बैंकिङ प्रणालीको कृत्तिम निक्षेपले शेयर बजारमा तरंग, फेरि अर्को अनिष्टको संकेत

१० श्रावण २०७९, मंगलवार १७:१९

काठमाडौं । देशको अर्थतन्त्रको ऐना मानिने शेयर बजारमा आज सामान्य पहिरो गयो । केन्द्रीय बैंकले मौद्रिक नीति सार्वजनिक गरेदेखि नै बढिरहेको शेयर मूल्यमा मंगलबार एकाएक घट्यो । कारण मौद्रिक नीति नभएर बैंकिङ क्षेत्रमा देखाइएको कृत्तिम निक्षेप थियो ।

मौद्रिक नीतिमा खासै शेयर बजारलाई थप नकसिएको र घरजग्गालाई कडाई गरिएकोले आगामी दिनमा लगानी शेयर बजारतर्फ आउने विश्लेषणको आधारमा शेयर बजारमा बुल हुन्छ कि भनेर लगानीकर्ताहरुले बजारबाट धमाधम शेयर उठाएका थिए । तर, अवस्था त्यस्तो भएन । फेरि पनि लगानीकर्ताहरु झुक्किन पुगेका छन् ।

असारको अन्तिम साता बैंकिङ प्रणालीमा निक्षेप ह्वात्तै बढ्यो । बैंकरहरुले केन्द्रीय बैंक र सर्वसाधारण जनतालाई झुक्याउन देखाइएको कृत्तिम निक्षेप साउनको पहिलो साता नै ह्वात्तै फिर्ता गराइएयो । बैंकहरुमा निक्षेप बृद्धि र कर्जामा सहजता भन्ने वित्तिकै शेयर बजारमा हरियाली छाएको थियो । तर, उक्त अवस्था लामो समयसम्म टिक्न सकेन ।

जब बैंकिङ प्रणालीबाट अकारण एक सातामा ६४ अर्ब रुपैयाँ चुहिएर सकियो लगत्तै बैंकिङ प्रणालीमा समस्या आयो । बैंकिङ क्षेत्रमा कृत्तिम रुपमा जम्मा गरिएको निक्षेप फिर्ता भएसँगै उत्पन्न भएको अर्थचित्रले शेयर बजारलाई नराम्ररी प्रभावित बनायो । शेयरधितोमा कर्जा नपाए पनि घरजग्गा वा अन्य क्षेत्रबाट केही न केही कर्जा लिएर वा व्यवसाय गर्ने वा केही सोचेका लगानीकर्ताहरुले बैंकिङ प्रणालीबाट तरलता बेपत्ता भएसँगै बैंकमा रकम अभाव हुने भयले शेयर बिक्री गर्ने क्रम ह्वात्तै बढ्यो ।

परिणाम स्वरुप एकैदिन तीन चार अर्बको कारोबार सुरु भयो । यतिबेला लगानीकर्ताहरुले बैंकिङ क्षेत्रमा तरलता अभावको असर गम्भिर हुने देखेपछि आइतबार र सोमबार धमाधम शेयर किनेकाहरुले मंगलबार उही रफ्तारमा बिक्री गरे ।

मंगलबारको शेयर कारोबार लगानीकर्ताहरुलाई चिन्ता बढाउने खालको छ । नेपाली शेयर बजारमा दोहोरो, तेहेरो अंकको मूल्यपरिसूचक घट्नु सामान्य कुरा हो । तर, मूल्यघट्दा पनि रेकर्ड ब्रेक हुने गरी बिक्री गर्नु अर्को चिन्ताको विषयले यसले कतै अझै मूल्य घट्ने त होइन ? प्रश्न चिन्ह खडा गरेको छ ।

फेरि पनि शेयर बजार असारमा धान रोपेर मंसिरमा काट्ने व्यवसाय नभई बजारमा चलेको ह्वीम अनुसार मूल्य घटबढ हुने हुँदा अन्त्यै चनाखो भई सचेततापूर्वक कारोबार गर्न नसकेमा आम्दानी हुने भन्दा गुम्ने खतरा पनि उत्तिकै हुन्छ भन्ने कुरालाई आम लगानीकर्ताहरुले मनन् गर्नुपर्दछ । यद्यपि अहिलेको मूल्यको आधारमा प्रवेश गर्ने, थोरै थोरै शेयर किनबेच गरी स्टकमार्केटबारे अध्ययन गर्ने, सिक्नको लागि खासै फरक भने पर्दैन ।

शेयर बजारमा कमाउने, दाउ लगाउने अनि पछि सडकमा पुगे भनेर रोईकराई गरेर फिर्ता नआउने भएकोले बिक्रीकर्ताहरुले पनि सचेततापूर्वक बिक्री गर्ने र खरिदकर्ताहरुले पनि कम्पनीको वित्तिय अवस्था आदि अध्ययन गरेर खरिद गर्ने हो भने आत्तिनुपर्ने अवस्था आउँदैन ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*