दोस्रो दिनमा कति पर्यो मन्दाकिनी हाइड्रोपावरको आइपीओमा आवेदन?

काठमाडौं । मन्दाकिनी हाइड्रोपावरको आइपीओमा ९३ करोड २४ लाख २२ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार आजसाँझ ५ः१ बजेसम्ममा ८ लाख १० हजार ९५३ जनाले ९३ लाख २४ हजार २२० कित्ताका लागि आवेदन दिएका छन् । यो सर्वसाधारणबाट माग गरिएको भन्दा ८।५२ गुणा बढी आवेदन हो ।
कम्पनीले सोमबार बाट ११ करोड ७६ लाख ७ हजार ३०० रुपैयाँ बराबरको आइपीओ जारी गरेको हो । यो मध्ये ५८ हजार ८०३ कित्ता सामूहिक लगानी कोष र २३ हजार ५२१ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ । बाँकी १० लाख ९३ हजार ७४९ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
यसमा साउन १२ गतेसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ताको लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् ।
उक्त आइपिओ बिक्री प्रबन्धकको काम बीओके क्यापिटल लिमिटेडले गरेको छ । कम्पनीलाई केयर रेटिङ नेपालले वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्ने ‘केयरएनपी डबल बी प्लस आइएस’ रेटिङ प्रदान गरेको छ । मन्दाकिनीले कास्की जिल्लामा ४ मेगावाट क्षमताको सार्दी खोला जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ ।













