इम्पेरमेन्ट चार्ज रिजर्भ भएका कारण नेपाल इन्भेष्टमेन्ट बैंकको नाफामा सुधार, वितरणयोग्य मुनाफा २ अर्ब नाघ्यो

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरणअनुसार बैंकको नाफामा सामान्य सुधार देखिएको छ ।
गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले ४ अर्ब ८ करोड ६३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १४.८३ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ३ अर्ब ५५ करोड ८६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
यस अवधिसम्म बैंकको खुद ब्याज आम्दानी र संचालन मुनाफा दुबै बढ्न पुगेको छ । आम्दानी र मुनाफा दुबै बढ्दा बैंकको इम्पेरमेन्ट चार्ज रिभर्स भएका कारण बैंकको नाफामा सुधार देखि पुगेको हो ।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ६.३७ प्रतिशत र सञ्चालन मुनाफा ३१.४१ प्रतिशत बढेको छ । असार मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा २ अर्ब ३ करोड ८३ लाख रुपैयाँ रहेको छ ।
नाफासँगै बैंकको प्रतिशेयर आम्दानी (ईपीएस) पनि सामान्य बढेको छ । समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ४३ पैसा बढेर २२ रुपैयाँ ३२ पैसा पुगेको छ । सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात ११.८७ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १८७ रुपैयाँ २१ पैसा रहेको छ ।
समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी १२.६१ प्रतिशत बढेर १८ अर्ब ३० करोड रुपैयाँ पुगेको छ भने रिजर्भको आकार समेत ३.८३ प्रतिशत बढेर १४ अर्ब ६७ करोड रुपैयाँ संचित रहेको छ । त्यसैगरी, बैंकको निक्षेप ५.८६ प्रतिशत र कर्जा ०.४२ प्रतिशत बढेको छ ।













