एनआइसी एशिया लघुवित्तको नाफामा उल्लेख्य बृद्धि, प्रतिशेयर आम्दानी बढ्यो

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ५८ करोड ५६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
लघुवित्तले आज सार्वजनिक गरेको गत आवको चौथो त्रैमाससम्मको वित्तीय विवरणअनुसार संस्थाको खुद नाफा २४.४९ प्रतिशतले बढेको हो । अघिल्लो आवको यसै अवधिसम्ममा संस्थाले ५७ करोड ४ लाख रुपैयाँ मात्रै खुद नाफा आर्जन गरेको थियो ।
यस अवधिसम्म लघुवित्तको खुद ब्याज आम्दानी र संचालन मुनाफा दुबै बढ्न पुगेको छ । यसकारण पनि लुघवित्तको नाफा बढ्नमा टेवा पुगेको हो । असार मसान्तसम्म संस्थाको खुद ब्याज आम्दानी ४३.३६ प्रतिशत बढेर १ अर्ब ४९ करोड ५ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा ३१.७३ प्रतिशत बढेर ९२ करोड ९३ लाख रुपैयाँ पुगेको छ ।
खुद नाफा बढेसँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि बढेको छ । समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी ६ रुपैयाँ ६२ पैसा बढेर ३३ रुपैयाँ ६७ पैसा पुगेको छ । सो अवधिसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात २५.५४ गुणा रहेको छ भन प्रतिशेयर नेटवर्थ १८९ रुपैयाँ रहेको छ ।
समीक्षा अवधिमा लघुवित्तको चुक्ता पुँजी १ अर्ब ७३ करोड रुपैयाँ रहेकोमा रिजर्भको आकार ६८ प्रतिशतले बढेर १ अर्ब ४० करोड ८९ लाख रुपैयाँ संचित रहेको छ ।
त्यस्तै, यस अवधिसम्म संस्थाले बैंक तथा वित्तीय संस्थाबाट १६ अर्ब ३१ करोड रुपैयाँ सापटी लिई ३ अर्ब ३५ करोड निक्षेप संकलन तथा २१ अर्ब ८४ करोड ७३ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ ।













