बीमा समितिले साउनमा काटिएका बीमा पोलिसी गत आवमा गणना गर्न नदिने

काठमाडौं । बीमा समितिले असार मसान्त पछि काटेको बीमा पोलिसी गत आवको लागि गणना नगर्ने भएको छ । अघिल्लो आर्थिक बर्षहरुमा आर्थिक मसान्त सकिएको दोस्रो सातासम्म पनि टार्गेट पुरा गर्ने नाममा यस्तो बीमा पोलिसीलाई अघिल्लो आवमै गणना गर्ने प्रचलन रहेकोमा यस वर्षदेखि गणना नगर्ने भएको हो । यस बर्ष भने उक्त समस्या निराकण हुने देखिएको छ । एपिआई मोडलबाट प्राप्त तथ्याङ्कको निगरानी गर्र्दैै उक्त व्यवस्था लागु हुन नदिने भएको बीमा समितिले जनाएको छ ।
विगतका बर्षमा समितिले साउनको बढीमा एक सातासम्म हिसाव मिलान गर्न समय दिँदै आएकोमा यस बर्ष रद्द गरिएको छ । साउन १ गते बीमा समितिमा प्राप्त भएको डाटालाई चालु आर्थिक बर्षको डाटामा राखिने बीमा समितिले जनाएको छ । आर्थिक बर्ष सक्किए पनि हिसाव मिलाउन एक हप्ताको समय पाउनुपर्ने कम्पनीको माग यस पटक गरेका थिए । तर समितिले यस बर्षउक्त मागको सुनुवाई गरेको छैन ।
असार मसान्त भन्दा पछि काटिएका पोलिसीलाई असार मासन्तभित्र गणना गरी टार्गेट पुरा गरिएको पाइएमा बीमा समितिको सफ्टवेयरले पत्ता लगाउने बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए । उनले यस बर्षदेखि असारमसान्त पछि काटेको बीमा पोलिसी आगामी बर्षको लागि गणना गर्ने बताएका छन् ।
कम्पनीका सम्पुर्ण गतिविधिहरुलाई सजिलै मोनिटरिङ गर्ने र सफ्टवेयरको कार्यान्वयन सँगै व्याकडेटमा पोलिसी काट्ने सम्पूर्ण कार्यले यस बर्ष मान्यता नपाएको समितिले जनाएको छ ।असार मसान्त बीमा कम्पनीका सिईओ, मार्केटिङ विभाग, शाखा अन्य विभागका प्रमुखहरु, अभिकर्ता लगायतका लागि निकै महत्वूर्ण हुने गर्दछ । असार मसान्तसम्मको पर्फर्मेन्सको आधारमा कर्मचारीहरुको बढुवा, सरुवा लगायतका कुराहरुलाई उनीहरुले पुरा गर्ने टार्गेटका आधारमा मूल्याङ्कन हुने गर्दछ ।अभिकर्ताहरुको लागि पनि टार्गेट मिट गर्ने अन्तिम चुनौती रहेको हुन्छ । यहि असार मसान्त सम्ममा पुरा गरिएको टार्गेटका आधारमा तलब सेवा सुविधा तल माथि हुने भएकाले उनीहरुले साउनमा पनि पोलिसी काट्ने गरेका थिए ।
बीमा समितिले गत वर्ष असार मासान्त भित्र आएका पोलिसीलाई असार मसान्त भित्रै पोलिसी काट्न निर्देशन दिएको थियो । यदि असारमा भ्याइएन भने पनि असार मसान्त भित्र बैंक शाखामा रकम जम्मा गरिसक्नुपर्ने भनेको थियो । असारको अन्तिम दिन शनिबार भएको कारण सम्पूर्ण बीमा कम्पनीहरुले उक्त दिन कार्यालय खोलेर अन्तिम दिनलाई बिदाई गरेको थियो । अघिल्ला आर्थिक बर्षहरुको असार मसान्तमा पनि बीमा कम्पनीहरुले शनिबार पनि बीमितहरुलाई सेवा दिँदै आइरहेका थिए ।













