आधा दर्जन लघुवित्तमा कुन सबैभन्दा तगडा ? हेर्नुहोस् प्रमुख विवरण सहित

काठमाडौं । लघुवित्त संस्थाहरुले धमाधम चालु आर्थिक वर्षको चौथौ त्रैमाशको वित्तीय विवरण सार्वजनिक गरेका छन् । हालसम्म आधा दर्जन लघुवित्त संस्थाहरुले वित्तीय विवरण सार्वजनिक गरेका छन् । यि मध्ये सबै लघुवित्तको नाफा बढेको कम्पनीहरुको अपरिकृत तथ्याङ्कले देखाएको छ ।
गत आर्थिक वर्ष २०७८।०७९ को चौथो त्रैमासम्मको वित्तीय विवरण हालसम्म सात लघुवित्त वित्तीय संस्थाहरुले प्रकाशित गरिसकेका छन् ।नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरेको एकीकृत निर्देशन, २०७८ संशोधन गरी बैंक तथा वित्तीय संस्थाहरुले आर्थिक वर्ष सकिएको २१ दिनभित्र वित्तीय विवरण प्रकाशित गरिसक्नुपर्ने निर्देशन भएबमोजिम बैंकहरुले भटाभट वित्तीय विवरण प्रकाशित गर्न थालेका छन् ।

स्रोत : लघुवित्तहरुले प्रकाशन गरेको अपरिष्कृत वित्तिय विवरणको आधारमा तयार गरेको तथ्याङ्क
तर तुलनात्मक आधारमा लघुवित्त वित्तीय संस्थाहरुले आ–आफ्नो वित्तीय विवरणहरु सार्वजनिक गर्न ढिलाई गरिरहेका छन् । संचालनमा रहेका कुल ५३ लुघवित्त संस्थाहरुमध्ये हालसम्म ७ वटा लघुवित्तले मात्रै वित्तीय विवरण प्रकाशित गरेका छन् ।हालसम्म आरएसडीसी, महुली, सिभिल, कालिका, ग्लोबल आइएमई, एनआइसी एशिया र फर्स्ट माइक्रोफाइनान्स लघुवित्तले गत आवको असार मसान्तसम्मको वित्तीय विवरण प्रकाशित गरेका छन् । सात लघुवित्तले गत आवको असार मसान्तसम्ममा १ अर्ब ५५ करोड ९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन् ।जसमा सबैभन्दा बढी मुनाफा कमाउनेमा एनआइसी एशिया लघुवित्त रहेको छ । लघुवित्तले गत आवको चौथो त्रैमासम्ममा ५८ करोड ५६ लाख ३५ हजार खुद नाफा आर्जन गर्न सफल भएको छ ।
त्यस्तै, दोस्रोमा बढी मुनाफा कमाउनेमा फर्स्ट माइक्रोफाइनान्स लघुवित्त रहेको छ । सो अवधिसम्म लघुवित्तले २६ करोड ८८ लाख ८३ हजार खुद नाफा आर्जन गरेको छ ।साथै ग्लोबल आइएमई लघुवित्तले २५ करोड ८८ लाख, आरएसडीसी लघुवित्तले १३ करोड ५२ लाख, कालिका लघुवित्तले १२ करोड ८४ लाख र महुली लघुवित्तले १० करोड ८५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन् ।
प्रतिशेयर आम्दानीको आधारमा
वित्तीय विवरण प्रकाशित गरिसकेको सात लघुवित्त मध्ये सबैभन्दा धेरै वार्षिकी प्रतिशेयर आम्दानी (इपिएस) ग्लोबल आइएमई लघुवित्तको रहेको छ । लघुवित्तको इपिएस ४५ रुपैयाँ ३४ पैसा रहेको छ ।
त्यस्तै, कालिका लघुवित्तको ४१ रुपैयाँ ६ पैसा, महुली लघु्वित्तको ३८ रुपैयाँ, ४८ पैसा, एनआइसी एशिया लघुवित्तको ३३ रुपैयाँ ६७ पैसा, फर्स्ट माइक्रोफाइनान्सको २७ रुपैयाँ ८८ पैसा, सिभिल लघुवित्तको २५ रुपैयाँ ५६ पैसा र आरएसडीसी लघुवित्तको १६ रुपैयाँ ७९ पैसा मात्रै रहेको छ ।
चुक्तापुँजीको आधारमा को बलियो ?
गत आर्थिक वर्षको चौथो त्रैमासम्मको वित्तीय विवरण प्रकाशित गरेका ७ लघुवित्त मध्ये सबैभन्दा बढी चुक्तापुँजी एनआइसी एशिया लघुवित्तको रहेको छ । सो अवधिसम्म लघुवित्तको चुक्तापुँजी १ अर्ब ७३ करोड ९४ लाख रुपैयाँ रहेको छ ।
त्यस्तै, दोस्रोमा फर्स्ट माइक्रोफाइनान्स लघुवित्त रहेको छ । लघुवित्तको असार मसान्तसम्म चुक्तापुँजी ९६ करोड ४४ लाख रुपैयाँ रहेको छ । साथै आरएसडीसी लघुवित्तको ८० करोड ५१ लाख, ग्लोबल आइएमई लघुवित्तको ५५ करोड २५ लाख, कालिका लघु्वित्तको ३१ करोड २८ लाख, सिभिल लघुवित्तको २८ करोड ८१ लाख र महुली लघुवित्तको २८ करोड ६९ लाख रुपैयाँ रहेको छ ।













