चौथो त्रैमाससम्म यस्तो देखियो आशा लघुवित्तको वित्तीय अवस्था

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेड गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ । उक्त विवरणअनुसार लघुवित्तको नाफामा सामान्य सुधार देखिएको छ ।
गत आवको चौथो त्रैमाससम्म लघुवित्तले १२ करोड ३५ लाख ७९ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो नाफा अघिल्लो आवको तुलनामा ०.४४ प्रतिशतले बढि हो । अघिल्लो आवको यसै अवधिमा संस्थाले १२ करोड ३० लाख ३५ हजार रूपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
समिक्षा अवधिसम्ममा संस्थाको खुद व्याज आम्दानीमा सामान्य बृद्धि भएको छ भने संचालन मुनाफामा गिरावट देखिएको छ । यसकारण पनि लघुवित्तले खुद नाफामा आकर्षक सुधार गर्न नसकेको हो । खुद ब्याज आम्दानी १९.८७ प्रतिशतले बढेर ३१ करोड ७५ लाख ९५ हजार रूपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा भने केहि घटेर १८ करोड ७२ लाख ६७ हजार रूपैयाँ पुगेको छ ।
त्यस्तै, संस्थाको चुक्ता पुँजी ३३ करोड ३९ लाख १४ हजार रुपैयाँ रहेकोमा जगेडा कोषको आकार १२१ प्रतिशतले बृद्धि भएर २१ करोड ९२ लाख ६५ हजार रुपैयाँ सञ्चित रहेको छ ।
साथै संस्थाको प्रतिसेयर आम्दानी (ईपीएस) ३७ रुपैयाँ ०१ पैसा र प्रतिसेयर नेटवर्थ १६५ रुपैयाँ ६७ पैसा रहेको छ । मूल्य आम्दानी अनुपात २५.७२ गुणा रहेको छ ।
यस अवधिसम्म लघुवित्तले बैंक तथा वित्तीय संस्थाबाट १ अर्ब ६४ करोड रुपैयाँ सापटी लिई १ अर्ब ३९ करोड निक्षेप संकलन तथा ३ अर्ब ५९ करोड कर्जा परिचालन गरेको छ ।













