शतप्रतिशत हकप्रद शेयर प्रस्तावपछि माथिल्लो तामाकोशीको शेयर मूल्य निरन्तर उकालो लाग्दै,खरिद बिक्रीमा चाप बढ्दै

काठमाडौं । माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले हकप्रद शेयर जारी गर्ने पुनः सूचना दिएसँगै कम्पनीको शेयर मूल्य बढिरहेको छ । कम्पनीले लगानीकर्तालाई १ः१ को अनुपातमा हकप्रद सेयर दिनका लागि साधारणसभा बोलाएको छ।यसअघि नेप्सेमा सूचना दिएर साधारणसभाको एजेण्डामा कम्पनीले हकप्रद शेयर नराखेपछि लगानीकर्ताहरु निराश देखिएका थिए । कम्पनीले फेरि अर्को सूचना जारी गर्दै एजीएममा उक्त एजेण्डा राख्ने भएपछि पुनः लगानीकर्ताहरुमा खुसी छाएको छ ।
भदौ ३ गते १ः१ अनुपातमा हकप्रदको प्रस्ताव पारित गर्न साधारणसभा बोलाएको हो। योसँगै कम्पनीको सेयर मूल्य पनि लगातार बढिरहेको छ। कम्पनीको चौथो साधारणसभाले हकप्रदको नीति पारित गर्नेछ। कम्पनीले हकप्रद दिएर चुक्ता पुँजी बढाउने तयारी गरेपछि सेयर बजारमा उछाल आएको छ। कम्पनीको सेयर मूल्य गत हप्तादेखि लगातार बढिरहेको छ।बिहीबार पनि सेयर मूल्य प्रतिकित्ता ६ रुपैयाँले बढेर ५४१ रुपैयाँमा अन्तिम कारोबार भएको छ। बिहीबार मात्रै कम्पनीको १४ करोड १७ लाखको कारोबार भएको थियो। २ लाख ५७ हजार कित्ता सेयर किनबेच भएको थियो।
आज पुन ९ रुपैयाँले बढेर ५५० रुपैयाँमा प्रि ओपनिङ सेसनमा कारोबार भईरहेको छ।पछिल्लो एक वर्षमा कम्पनीको सेयर मूल्य बढेर ९६२ रुपैयाँसम्म पुगेको थियो। त्यस्तै घटेर ३७६ रुपैयाँसम्म दोस्रो बजारमा कारोबार भएको थियो। आयोजनाले निर्माण भएको देशकै सबैभन्दा ठूलो ४५६ मेगावाट आयोजनाले ३० अर्ब चुक्तापुँजी बनाउने गरी प्रक्रिया अगाडि बढाएको छ।आयोजनाले १ः१ कित्ता हकप्रद दिने प्रस्ताव गरेको हो। जसको लागि आयोजना सञ्चालक समितिले निर्णय गरेर विद्युत नियमन आयोगबाट समेत स्वीकृत हुनुपर्छ।
हालको चुक्तापुँजी १० अर्ब ५० करोड रुपैयाँलाई बढाएर ३० अर्ब रुपैयाँ बनाउन उक्त अनुपातमा हकप्रद सेयर निष्कासन गर्न लागेको हो। माथिल्लो तामाकोशी पहिलोपटक नाफामा गएको थियो। ४५६ मेगावाट क्षमताको आयोजनाले उत्पादन सुरु भएर बिजुली बिक्री गर्न थालेपछि नाफामा जान थालेको छ। कम्पनीको बजार पुँजीकरण ५७ अर्ब पुगेको छ।
बैंकको ब्याजबाहेक ३५ अर्ब २९ करोड रुपैयाँमा निर्माण पूरा गर्ने लक्ष्य राखिएको आयोजना ८८ अर्ब रुपैयाँ पुगिसकेको थियो। माथिल्लो तामाकोशी प्रतिमेगावाट १९ करोड ३० लाख रुपैयाँमा सम्पन्न भएको हो। कम्पनीका अनुसार कुल लागतमध्ये ५२ अर्ब रुपैयाँ खुद लागत तथा बाँकी बैंकको ब्याज, विदेशी मुद्रामा आएको वृद्धिलगायत खर्च निस्केको छ ।













