एनआइसी एशिया बैंकको निक्षेप अब मेसिनबाटै जम्मा गर्न सकिने, कुन–कुन शाखामा छ यो व्यवस्था ?

काठमाडौं । एनआइसी एशिया बैंकले नगद रकम सोझै मेसिनबाट जम्मा गर्न सकिने ‘क्यास डिपोजिट’ सेवाको शुभारम्भ गरेको छ । ‘डिजिटल फस्ट बैंक’ बन्ने दीर्घकालीन रणनीति अनुरुप सम्पूर्ण बैंकिङ्ग सेवा तथा सुविधाहरू क्रमिक रुपले डिजिटल माध्यमबाट प्रदान गर्ने अठोट लिएको बैंकले अब रकम सोझै मेसिनबाट जम्मा गर्न सकिने सुविधा ल्याएको हो ।
यस नवीन सेवा मार्फत अब ग्राहकहरुले सहज रुपमा यस बैंकमा रहेको आफ्नो वा अन्यको खातामा नगद रकम जम्मा गर्न सक्नेछन् । यस सेवा अन्तर्गत बैंकमा गई कुनै भौतिक फारम बिना ग्राहकहरूले केबल खाता नम्बरको आधारमा मेसिनबाट सोझै रकम जम्मा गर्न सक्ने व्यवस्था रहेको छ ।
यस मेसिनबाट १००० रुपैयाँ र ५०० रुपैयाँ दरका नोटहरू मात्र जम्मा गर्न मिल्ने व्यवस्था रहेकोमा एक जना ग्राहकको खातामा एक पटकमा अधिकतम ९९ हजार ५०० गरी दैनिक अधिकतम ९ लाख ९९ हजार ५०० सम्म नगद जम्मा गर्न सकिने व्यवस्था रहेको छ ।
सहज एवं सरल बैंकिङ्गलाई अंगाल्दै आएको बैंकको यस नयाँ सेवाबाट नगद जम्मा गर्नका लागि सेवाग्राहीले उक्त मेसिनमा रकम जम्म गर्न इच्छाएको खाता नम्बर उल्लेख गरेपछि मोबाइल नम्बरमा ओटीपी प्राप्त गर्नेछन् र उक्त ओटीपी मेसिनमा उल्लेख गरेर भेरिफाइ भएपछि रकम जम्मा गर्ने प्रक्रिया प्रारम्भ हुनेछ । उक्त मेसिनमा आफूले जम्मा गर्न चाहेको नगद रकम राखेपछि मेसिनले सो रकम गनेर खातामा तत्काल सहज रुपमा जम्मा गरिदिने र त्यसको जानकारी समेत एसएमएस तथा रिसिप्ट मार्फत उपलब्ध हुने व्यवस्था बैंकले गरेको छ ।
बैंकले यो सेवा हालको लागि आफ्नो न्यूरोड बिशालबजार शाखामा सञ्चालन गरेको र यस सेवालाई निकट भविष्यमा देशका अन्य शाखाहरूमा समेत विस्तार गर्ने योेजना बनाइरहेको हुँदा नगद जम्मा गर्नकै लागि भौतिक फारम भरी बैंकको नगद काउन्टरमा लाइन लागेर जम्मा गर्नुपर्ने अवस्थाबाट ग्राहकहरूलाई मुक्ति मिल्ने बैंकले विश्वास लिएको छ । साथै, यस बैंकले दैनिक रुपमा रकम झिक्न र बचत गर्न सकिने क्यास रिसाइक्लर मेसिनबाट समेत सेवा सुचारु गरिसकेको छ ।
बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा यो बैंक मुलुकभर रहेका ३५९ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०२ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन पुगेको छ । देशको कुल जनसंख्या मध्ये २० वर्ष देखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५% जनतालाई यस बैंकमार्फत सेवा दिन बैंक सफल भएको छ ।
देशको अर्थतन्त्रको सवलीकरण तथा उच्च आर्थिक वृद्धिमा टेवा पु¥याउन उत्तरदायी बंैकिङ्गको अभ्यास गर्दै स्थापना कालदेखि हालसम्ममा प्रत्यक्ष र अप्रत्यक्ष गरी कुल रू. १९ अर्ब ९२ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरेको र गत आर्थिक वर्षमा करिब रू.३ अर्ब ४१ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई बुझाई समग्र वाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी कर दाखिला गर्ने बैंकको रुपमा स्थापित हुन बैंक सफल भएको छ । जुन समग्र देशको अन्य कम्पनीहरूको तुलनामा छैठौं ठूलो योगदान रहेको छ । वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ । देशको कुल जनसंख्याको ८०% भन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना ७२% शाखा कार्यालयहरू स्थापना गरेको छ ।













