यसकारण घट्यो जाल्पा सामुदायिक लघुवित्तको नाफा, अन्य सूचक कस्तो ?

काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासम्ममा ९ करोड ८६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
लघुवित्तले आज प्रकाशित गरेको गत आवको चौथो त्रैमाससम्मको वित्तीय विवरणअनुसार लघुवित्तको मुनाफा ४.६७ प्रतिशतले घटेको हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले १० करोड ३४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
यस अवधीसम्म लघुवित्तको खुद ब्याज आम्दानी बढेपनि सञ्चालन खर्च र कर्मचारी खर्च बढेपछि लघुवित्तको नाफा घट्न पुगेको हो।
समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ३६.२० प्रतिशत बढेर ३५ करोड ३९ लाख रुपैयाँ पुगेको छ भने कुल सञ्चालन आम्दानी ४०.३१ प्रतिशत बढेर ४५ करोड ४६ लाख रुपैयाँ पुगेको छ ।
लघुवित्तको सञ्चालन मुनाफा भने समीक्षा अवधिमा १.४५ प्रतिशत घटेर ९ करोड ४६ लाख रुपैयाँमा सीमित भएको छ । साथै यस अवधिसम्म लघुवित्तको खराब कर्जा बढेर ३.३२ प्रतिशतमा पुगेको छ । यसकारण पनि लघुवित्तले नाफामा सुधार गर्न नसकेको हो ।
खुद नाफा घटेसँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी ३४ रुपैयाँ ३४ पैसा घटेर ६१ रुपैयाँ ६६ पैसामा सीमित भएको छ। सो अवधिसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात ३७.५९ गुणा रहेको छ भन प्रतिशेयर नेटवर्थ ३४७ रुपैयाँ ७० पैसा रहेको छ।
समीक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी ४८.४२ प्रतिशत बढेर १६ करोड पुगेको छ भने जगेडा कोषको आकार २५.९९ प्रतिशत बढेर ४७ करोड २६ लाख रुपैयाँ संचित गर्न सफल भएको छ ।
त्यसैगरी, यस अवधिसम्म लघुवित्तले बैंक तथा वित्तीय संस्थाबाट १ अर्ब ८९ करोड ३१ लाख रुपैयाँ सापटी लिई २ अर्ब ५५ करोड ८४ लाख रुपैयाँ निक्षेप संकलन तथा ५ अर्ब ५ करोड २५ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ ।













