यसकारण घट्यो छिमेक लघुवित्तको नाफा, चुक्तापुँजी २७ प्रतिशतले बृद्धि

१७ श्रावण २०७९, मंगलवार ०७:१४

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार लघुवित्तको नाफामा गिरावट आएको छ ।

गत आर्थिक वर्षको असार मसान्तसम्ममा लघुवित्तले १ अर्ब ३ करोड २२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २१.४३ प्रतिशत कम हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले १ अर्ब ३१ करोड ३८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

यस अवधिसम्म लघुवित्तको खुद ब्याज आम्दानी बढेपनि इम्पेरमेन्ट चार्ज बढेसँगै लघुवित्तको नाफा घट्न पुगेको हो । समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ११.६९ प्रतिशत बढेर २ अर्ब ४९ करोड ५ लाख रुपैयाँ पुगेको छ । त्यस्तै, लघुवित्तको सञ्चालन मुनाफा भने समीक्षा अवधिमा १२.५९ प्रतिशत घटेर १ अर्ब ६० करोड ७८ लाख रुपैयाँ पुगेको छ ।

यस अवधिसम्म लघुवित्तको इम्पेरमेन्ट चार्ज र संचालन नाफा घटेसँगै लघुवित्तले खुद नाफामा सुधार गर्न नसकेको हो । अघिल्लो आर्थिक वर्षमा ६ करोड रुपैयाँ रिभर्स भएको इम्पेरमेन्ट चार्ज, गत आर्थिक वर्षमा २४ करोड १३ लाख रुपैयाँ पुगेको छ । जसले गर्दा सञ्चालन मुनाफा घट्न पुगेको हो ।

खुद नाफा घटेसँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि घटेको छ । समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी २७ रुपैयाँ ३८ पैसा घटेर ४४ रुपैयाँ ४२ पैसामा सीमित भएको छ । सो अवधिसम्ममा लघुवित्तको प्रतिशेयर नेटवर्थ २५४ रुपैयाँ २० पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २४.७७ गुणा रहेको छ ।

समीक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी २७ प्रतिशत बृद्धि भई २ अर्ब ३२ करोड रुपैयाँ पुगेको छ भने जगेडा कोषको आकार १०.५७ प्रतिशतले बृद्धि भई कोषमा ३ अर्ब ५८ करोड ३७ लाख रुपैयाँ संचित रहेको छ ।

साथै लघुवित्तले यस अवधिसम्म बैंक तथा वित्तीय संस्थाबाट २७ अर्ब १ करोड ९४ लाख रुपैयाँ निक्षेप संकलन तथा ३२ अर्ब ८८ करोड ७७ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*