सञ्चालन खर्च बढ्दा प्राइम बैंकको प्रतिशेयर आम्दानी घट्यो, लाभांश दिन सक्ने क्षमता १२.५७ प्रतिशतमा सीमित

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । विवरण अनुसार बैंकको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य बढेपनि प्रतिशेयर आम्दानी भने घटेको छ । प्रतिशेयर आम्दानी घटेसँगै बैंकले वितरण गर्ने मुनाफा गत वर्षको तुलनामा केही घट्ने भएको छ ।
बैंकको सञ्चालन खर्चमा भएको बृद्धि कर्मचारीमा खर्चमा बढोत्तरीका कारण प्रतिशेयर आम्दानी घटेको हो । खर्च बढेसँगै गत वर्ष १६.६३ प्रतिशत लाभांश दिएको बैंकले यस वर्ष साढे १२ प्रतिशत हाराहारी लाभांश दिनसक्ने देखिएको छ ।
गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकले ३ अर्ब ६८ करोड १२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १२.६३ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ३ अर्ब २६ करोड रुपैयाँ खुद नाफा कमाएकोमा यस वर्ष मुनाफामा बृद्धि भएपनि गत वर्ष वितरण गरेको बोनस शेयरका कारण बढेको चुक्तापुँजिको अनुपातमा मुनाफा बृद्धि हुन नसक्दा प्रतिशेयर आम्दानी घट्न पुगेको हो ।
खुद ब्याज आम्दानी बढेसँगै इम्पेरमेन्ट चार्ज घटेपछि बैंकको नाफा बढ्न पुगे पनि बैंकले जथाभावी गरेको खर्चका कारण बैंकको खर्च गत वर्षको तुलनामा यस वर्ष करिब १५ करोड रुपैयाँ सञ्चालन खर्च थपिएको छ । सञ्चालन खर्च स्थीर राख्न सकेको भएमा बैंकले गत वर्र्षकै हाराहारीमा प्रतिशेयर आम्दानी गर्न सफल हुने थियो ।
अघिल्लो आवको तुलनामा गत आवमा बैंकको खुद ब्याज आम्दानी ८.९२ प्रतिशत बढेको छ भने खुद फि तथा कमिसन आम्दानी २२.२४ प्रतिशत बढेको छ । अघिल्लो आवमा १४ अर्ब रुपैयाँ ब्याज आम्दानी गरी आठ अर्ब रुपैयाँ ब्याज वितरण गरेकोमा गत आवमा १८ अर्ब रुपैयाँ ब्याज आम्दानी गरी १२ अर्ब रुपैयाँ ब्याज रकम वितरण गरेको छ । बैंकले फि, कमिशन बापत करिब एक अर्ब रुपैयाँ आम्दानी गरेको छ । बैंकको कुल सञ्चालन आम्दानी १.४८ प्रतिशत बढेर सात अर्ब ७७ करोड रुपैयाँ पुगेको छ । कम्पनीले गत वर्ष एक अर्ब ५९ करोड रुपैयाँ कर्मचारीहरुमा खर्च गरेकोमा चालु आवमा एक अर्ब ७० करोड रुपैयाँ खर्च गरेको छ ।
बैंकको खुद नाफा तीन अर्ब ६८ करोड रुपैयाँ भएपनि जम्मा दुई अर्ब ३४ करोड ६४ लाख रुपैयाँ मात्रै वितरणयोग्य मुनाफा रहेको छ । रिजर्भमा कोष, सामाजिक उत्तर दायित्व कोष, कर्मचारी तालिम कोषमा राख्ने खर्च कटाएर असार मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा २ अर्ब ३४ करोड ६४ लाख रुपैयाँ रहेको छ । यस आधारमा बैंकले १२.५७ प्रतिशत लाभांश दिन सक्ने देखिएको छ । बैंकको कूल चुक्ता पुँजि १८ अर्ब ६५ करोड ६३ लाख २२ हजार ८०४ रुपैयाँ रहेको छ ।
अघिल्लो आवको तुलनामा बैंकको नाफा बढेपनि प्रतिशेयर आम्दानी भने सामान्य घटेको छ । समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ५९ पैसा घटेर १९ रुपैयाँ ७३ पैसामा झरेको छ । सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १३.४३ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १४७ रुपैयाँ ६९ पैसा रहेको छ । बैंकको निक्षेप ३.९३ प्रतिशत र कर्जा ९.४४ प्रतिशत बढेको छ ।













