कुमारी बैंकको नाफा २ अर्ब ८३ करोड रुपैयाँ, लाभांश क्षमता १९ प्रतिशत

काठमाडौं । कुमारी बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरणअनुसार बैंकको नाफामा उल्लेख्य सुधार देखिएको छ ।
गत आवको असार मसान्तसम्म बैंकले २ अर्ब ८३ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको सोही अवधिसम्मको तुलनामा ४३.८७ प्रतिशतले बढी हो । अघिल्लो आवको यसै अवधिसम्म बैंकले १ अर्ब ९७ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
यस अवधिसम्म बैंकको खुद ब्याज आम्दानी र संचालन नाफा दुबै बढ्न पुगेको छ । यसकारण पनि बैंकले नाफामा आकर्षक सुधार गर्न सफल भएको हो ।
समिक्षा अवधिसम्म बैंकको खुद ब्याज आम्दानी २५.६७ प्रतिशतले बढेर ६ अर्ब ३८ करोड रुपैयाँ पुगेको छ भने संचालन मुनाफा ३२.६८ प्रतिशतले बढेर ३ अर्ब ९८ करोड रुपैयाँ पुगेको छ । बैंकको नाफा बढेसँगै वितरणयोग्य नाफा पनि ६२.१२ प्रतिशतले बढेर १ अर्ब ७७ करोड रुपैयाँ पुगेको छ ।
नाफामा सुधार आएसँगै बैंकको प्रतिशेयर आम्दानी ४ रुपैयाँ ८५पैसा बढेर १९ रुपैयाँ २७ पैसा पुगेको छ । त्यस्तै, प्रतिशेयर नेटवर्थ १४४ रुपैयाँ १ पैसा पुगेको छ ।
समिक्षा अवधिसम्म बैंकको चुक्तापुँजी ६ प्रतिशतले बृद्धि भई १४ अर्ब ७१ करोड ११ लाख रुपैयाँ पुगेकोमा जगेडा कोषको आकार २५.४१ प्रतिशतले बृद्धि भई ४ अर्ब ६१ करोड २२ लाख रुपैयाँ कोषमा संचित रहेको छ ।
त्यस्तै, यस अवधिसम्म बैंकको निक्षेप २१.२१ प्रतिशतले बढेको छ भने कर्जा परिचालन ११.२२ प्रतिशतले बृद्धि भएको छ ।













