राष्ट्र उत्थान लघुवित्तको नाफा ४१ प्रतिशतले बढ्यो, इपीएस कति ?

काठमाडौं । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको असार मसान्तसम्म ६ करोड ६५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
लघुवित्तले आज प्रकाशित गरेको गत आवको चौथो त्रैमाससम्मको वित्तीय विवरणअनुसार संस्थाको नाफा अघिल्लो आवको तुलनामा ४१.१७ प्रतिशतले बढेको हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ४ करोड ७१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
यस अवधिसम्म लघुवित्तको खुद ब्याज आम्दानी बढेसँगै सम्भावित जोखिम बापत कम रकम छुट्याएका कारण लघुवित्तको नाफा बढ्न पुगेको हो । समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी १६.७१ प्रतिशत बढेर २२ करोड ८ लाख रुपैयाँ पुगेको छभने संचालन मुनफा पनि ४१.१७ प्रतिशत बढेर १० करोड ४७ लाख रुपैयाँ पुगेको छ ।
संस्थाले अघिल्लो आर्थिक वर्षमा छुट्याएको १ करोड ६४ लाख ७३ हजार प्रोभिजनिङ्ग ८७.९० प्रतिशत घटाएर १९ लाख ९४ हजार कायम गर्दा संस्थाको नाफामा सुधार देखिएको हो ।
खुद नाफा बढेपनि लघुवित्तको प्रतिशेयर आम्दानी भने सामान्य घटेको छ । समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी १ रुपैयाँ ३४ पैसा घटेर २५ रुपैयाँ ५८ पैसामा झरेको छ । असार मसान्तसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात ३६.२० गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १७० रुपैयाँ ८ पैसा रहेको छ ।
यस अवधिसम्म लुघवित्तको चुक्तापुँजी ४८.५७ प्रतिशत बढेर २६ करोड रुपैयाँ पुगेको छ भने लघुवित्तको जगेडा कोषको आकार ५४.४२ प्रतिशत बढेर १८ करोड २२ लाख रुपैयाँ सञ्चित छ । समीक्षा अवधिमा लघुवित्तले बैंक तथा वित्तीय संस्थाबाट २ अर्ब १४ करोड रुपैयाँ सापटी लिई ८२ करोड ९४ लाख रुपैयाँ निक्षेप संकलन तथा ३ अर्ब २८ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ ।













