खुद ब्याज आम्दानी बढेपनि कृषि विकास बैंकको नाफामा गिरावट, वितरणयोग्य मुनाफा बढ्दा शेयरधनीलाई फाइदा

१९ श्रावण २०७९, बिहीबार १०:३६

काठमाडौं । कृषि विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार बैंकको खुद नाफामा सामान्य गिरावट आएको छ ।

गत आवको असार मसान्तसम्म बैंकले २ अर्ब ३६ करोड ४० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २६.१६ प्रतिशत कम हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ३ अर्ब २० करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।

नाफा घटेपनि बैंकको वितरणयोग्य मुनाफा भने करिब ४ अर्ब रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकको यस्तो मुनाफा ३ अर्ब ९० करोड ६९ लाख रुपैयाँ रहेको छ ।

समिक्षा अवधिसम्म बैंकको खुद ब्याज आम्दानी बढेपनि खुद ट्रेडिङ्ग आम्दानी ऋणात्मक भएसँगै बैंकको खुद नाफामा दबाब पुगेको हो ।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १३.३० प्रतिशत बढेर ७ अर्ब ७७ करोड ९१ लाख रुपैयाँ पुगेको छ खुद फि तथा कमिसन आम्दानी ११.०६ प्रतिशत घटेको छ । त्यसैगरी, बैंकको कुल सञ्चालन आम्दानी ७.३६ प्रतिशत र सञ्चालन मुनाफा १८.२५ प्रतिशत घटेर ४ अर्ब ११ करोड ८१ लाख रुपैयाँमा सीमित भएको छ ।

बैंकको नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि घटेको छ । समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ११ रुपैयाँ २१ पैसा घटेर १७ रुपैयाँ ९३ पैसामा सीमित भएको छ। सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १८.४६ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ २१२ रुपैयाँ २५ पैसा रहेको छ ।

समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी २० प्रतिशत बढेर १३ अर्ब १८ करोड ७९ लाख रुपैयाँ पुगेको छ भने रिजर्भको आकार शुन्य दशमलव ३१ प्रतिशत बढेर कोषमा १५ अर्ब १२ करोड ८९ लाख रुपैयाँ संचित रहेको छ । यस अवधिसमम बैंकको निक्षेप २.२६ प्रतिशत र कर्जा १८.५४ प्रतिशत बढेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*