नबिल बैंकको मुनाफा झण्डै ५ अर्ब, बाँड्न मिल्ने नाफा ३ अर्ब ३७ करोड रुपैयाँ

काठमाडौं । नबिल बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । विवरण अनुसार अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकको नाफामा सुधार देखिएको छ ।
गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा बैंकले ४ अर्ब ९७ करोड २७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ९.८३ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ४ अर्ब ५२ करोड ७५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
यस अवधिसम्म बैंकको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै बैंकको खुद नाफा बढ्न पुगेको हो । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १६.७९ प्रतिशत बढेर ९ अर्ब ४३ करोड रुपैयाँ पुगेको छ भने संचालन मुनाफा १३.९८ प्रतिशत बढेर ७ अर्ब ९ करोड रुपैयाँ पुगेको छ । सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब ३७ करोड १४ लाख रुपैयाँ रहेको छ । वितरणयोग्य मुनाफा र चुक्तापुँजीको आधारमाा गणना गर्दा बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १४.७६ प्रतिशत लाभांश वितरण क्षमता राख्दछ ।
नाफा बढे पनि बैंकको प्रतिशेयर आम्दानी भने घटेको छ । समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी १० रुपैयाँ ३६ पैसा घटेर २१ रुपैयाँ ७८ पैसा पुगेको छ। असार मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात ३७.८१ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ २३० रुपैयाँ ३७ पैसा रहेको छ ।
समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी ६४.९२ प्रतिशत बढेर २२ अर्ब ८३ करोड २९ लाख रुपैयाँ पुगेको छ भने जगेडा कोषको आकार ४८.६५ प्रतिशत बढेर कोषमा २९ अर्ब ७५ करोड ७ लाख रुपैयाँ संचित रहेको छ । त्यसैगरी, बैंकको निक्षेप ४५.९८ प्रतिशत र कर्जा ५२.०४ प्रतिशत बढेको छ।













