मेगा बैंकको वितरणयोग्य नाफा २२८ प्रतिशतले बढ्यो, खुद नाफा कति ?

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडसँग गाभिन लागेको मेगा बैंक नेपाल लिमिटेडले गत आर्थिक वर्षको अन्त्यसम्ममा २ अर्ब ३२ करोड रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ ।
बैंकले आज प्रकाशित गरेको गत आवको चौथो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरणअनुुसार बैंकको नाफा अघिल्लो आवको तुलनामा २१.७८ प्रतिशतले बढेको हो । विभिन्न सूचाङ्ककमा सुधार गर्दै बैंकले नाफामा अब्बल सुधार गर्न सफल भएको हो । अघिल्लो आवको यसै अवधिसम्म बैंकले २ अर्ब ३२ करोड रुपैयाँ नाफा आजर्न गरेको थियो ।
यस अवधिसम्म बैंकको खुद र संचालन मुनाफा दुबैमा सुधार देखिएको छ । यसकारण पनि बैंकको नाफा बढ्नमा टेवा पुगेको हो ।
यस अवधिसम्म बैंकको खुद ब्याज आम्दानी २ प्रतिशतले बढेर ५ अर्ब ९१ करोड १३ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा २५.८३ प्रतिशत बढेर ४ अर्ब १३ करोड पुगेको छ ।
नाफामा सुधार गर्दै बैंकले यस अवधिसम्म वितरणयोग्य मुनाफा १ अर्ब ६३ करोड ६० लाख रुपैयाँ छुट्याएको छ । जुन यो अघिल्लो आर्थिक वर्षको तुलनामा २२८.२८ प्रतिशतले बढी हो । अघिल्लो आवमा बैंकले यस्तो नाफा ४९ करोड ८३ लाख रुपैयाँ मात्रै छुट्याएको थियो ।
यसको आधारमा हेर्ने हो भने बैंकको लाभांश क्षमता १०.६४ प्रतिशत लाभांश दिने क्षमता राख्दछ । तर मेगा बैंक इन्भेष्टमेन्ट बैंकसँग गाभिने सम्झौतापत्रमा हस्ताक्षर भइसकेको छ । यसर्थ यति नै लाभांश दिने भन्ने यकिन गर्न सकिँदैन ।
त्यस्तै, यस अवधिसम्म बैंकको प्रतिशेयर आम्दानी १७ रुपैयाँ ५७ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १४२.५२ रुपैयाँ रहेको छ ।
यस अवधिसम्म बैंकको चुक्तापुँजी १० प्रतिशतले बढेर १६ अर्ब १२ करोड ४ लाख रुपैयाँ पुगेको छ भने जगेडा कोषको आकार २१.२५ प्रतिशत बढेर ६ अर्ब ८५ करोड रुपैयाँ कोषमा संचित रहेको छ । साथै बैंकको निक्षेप यस अवधिसम्म १२.१२ प्रतिशत बढेको छ भने कर्जा लगानी ७.५९ प्रतिशत बढेको छ ।













