स्वरोजगार लघुवित्तको नाफामा उल्लेख्य सुधार, चुक्तापुँजी २५ प्रतिशतले बृद्धि

काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासम्ममा खुद नाफामा उल्लेख्य सुधार गरेको छ ।
लघुवित्तले आज प्रकाशित गरेको गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरणअनुसार संस्थाको खुद नाफा २० करोड २६ लाख २९ हजार रुपैयाँ पुगेको छ । जुन यो नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ३१.३० प्रतिशतले बढी हो । अघिल्लो आवको यसै अवधिसम्म लघुवित्तले १५ करोड ४३ लाख २१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
समिक्षा अवधिसम्म लघुवित्तको खुद ब्याज आम्दानी र संचालन मुनाफा दुवै बढ्न पुगेकोले लघुवित्तको नाफा बढ्न पुगेको हो । यस अवधिसम्म लुघवित्तको खुद ब्याज आम्दानी २५.७२ प्रतिशतले बढेर ४२ करोड ७७ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा ८६.३७ प्रतिशतले बढेर २५ करोड ७२ लाख रुपैयाँ पुगेको छ ।
नाफा बढेसँगै लघुवित्तको प्रतिशेयर आम्दानी (इपीएस) पनि बढेको छ । यस अवधिसम्म लघुवित्तको इपीएस १ रुपैयाँ ८९ पैसा बढेर ३९ रुपैयाँ ४१ पैसा पुगेको छ । त्यस्तै, प्रतिशेयर नेटवर्थ १५७ रुपैयाँ ५८ पैसा रहेको छ ।
लघुवित्तको समिक्षा अवधिसम्म चुक्तापुँजी २५ प्रतिशतले बृद्धि भई ५१ करोड ४० लाख रुपैयाँ पुगेको छ भने रिजर्भको आकार ४२.७५ प्रतिशतले बृद्धि भई कोषमा २९ करोड ६० लाख रुपैयाँ संचित रहेको छ । यस अवधिसम्म लघुवित्तको निष्क्रिय कर्जा समेत घटेर २.३७ प्रतिशतमा कायम भएको छ ।
लुघवित्तले यस अवधिसम्म बैंक तथा वित्तीय संस्थाबाट ३ अर्ब ५० करोड १९ लाख रुपैयाँ सापटी लिई ३ अर्ब १५ करोड ४८ लाख रुपैयाँ निक्षेप संकलन तथा ७ अर्ब ३५करोड ३ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ ।













