‘शुभ लक्ष्मी कोष’को इकाईको बिक्रि जारी, भदौ २ गतेसम्म आवेदन दिन पाईने, ५१ प्रतिशतका प्रतिफल दिने प्रक्षेपण

काठमाडौं । लक्ष्मी म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने शुभ लक्ष्मी कोषका इकाईधनीले भदौ २ गतेसम्म आवेदन दिन पाउनेछन् । यस योजनाका १० रुपैयाँ अंकित दरका ५ करोड इकाइमध्ये न्यूनतम ७५ लाख वा कुल बिक्री भएको इकाइ संख्याको न्यूनतम १५ प्रतिशत बिज पुँजीबापत इकाइ कोष लक्ष्मी बैंकलाई सुरक्षित राखी बाँकी न्यूनतम ४ करोड २५ लाख इकाइमध्ये पहिलो चरणमा सर्वसाधारणका लागि १ करोड ७५ लाख इकाइ बिक्री खुला गरिएको हो। यसमा लगानीकर्ताले न्यूनतम १०० इकाइदेखि अधिकतममा ५० लाख इकाइसम्म खरिद आवेदन दिन पाउनेछन्।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सम्पूर्ण सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखा कार्यालय तथा सीडीएससीको मेरो सेयरबाट आवेदन दिन सक्नेछन्। यो खुलामुखी योजना हो। यसको योजना व्यवस्थाकमा लक्ष्मी क्यापिटल मार्केट रहेको छ।
यो योजनाको निष्कासन बन्द छिटोमा साउन २३ गते हुनेछ। यो अवधिसम्म मागबमोजिम आवेदन नपरेको खण्डमा भदौ २ गते बैंकिङ समयसम्म आवेदन दिन पाइनेछ।कोष प्रवद्र्धकमा लक्ष्मी बैंकयोजना व्यवस्थापक कम्पनी लक्ष्मी क्यापिटलमा बैंकको सत प्रतिशत लगानी छ । बैंकमा ५१ प्रतिशत सेयर स्वामित्व संस्थापक सेयरधनीहरुको र ४९ प्रतिशत सेयर स्वामित्व सर्वसाधारण सेयरधनीहरुको छ।
यस्तै, शुभलक्ष्मी कोष म्युचुअल फण्डको योजना व्यवस्थापक लक्ष्मी क्यापिटल धितोपत्र व्यवसायी मर्चेन्ट बैंकरको रूपमा २०७० साउन ४ गते नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको संस्था हो ।
कम्पनीले आफ्नो सेवालाई विविधीकरण गर्दै सेयर प्रत्याभूती सेवा, सेयर रजिष्ट्रार सेवा, लगानी व्यवस्थापनको सेवा प्रदान गर्दै आइरहेको छ । कम्पनीले बोर्डबाट २४ जेठ २०६९ मा निक्षेप सदस्य र २७ साउन २०७० मा योजना व्यवस्थापक तथा डिपोजिटरीको कार्य अनुमति पाएको हो ।
क्यापिटलको अध्यक्षमा बैंक तथा वित्तीय क्षेत्रमा २२ वर्ष बढिको अनुभव संगालेका सुमेद भट्टराई छन् । उनी लक्ष्मी बैंकमा उप–प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत छन् । क्यापिटलको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा राजिव सापकोटा कार्यरत छन् । सीईओ सापकोटासँग बैंक तथा वित्तीय क्षेत्रमा २१ बर्ष भन्दा बढिको अनुभव छ । साथै लक्ष्मी बैंकमा प्रमुख संस्थागत बैकिङ्ग तथा व्यवसाय विकासको रुपमा कार्यरत छन् ।
योजनाको उद्देश्य
योजनाले इकाई बिक्रीबाट संकलित रकम धितोपत्र बजारमा लगानी गरी दक्ष लगानी सेवाद्धारा योजनाका लगानीकर्तालाई उचित प्रतिफल दिने साथै खुलामुखी सामुहिक लगानी योजनाको बारेमा लगानीकर्ताहरुमा जनचेतना अभिवृद्धि गराई उनीहरुको बचत रकम इकाई बिक्रीको माध्यमबाट पुँजी बजारमा परिचालन गरी दोश्रो बजारको दिगो विकासमा सघाउ पुर्याउने उद्देश्यले यस योजनाका इकाईहरु निष्काशन गरिएको जनाएको छ ।
क्यापिटलले यसअघि लक्ष्मी म्युचुअल फण्ड अन्तर्गतको लक्ष्मी भ्यालु फण्ड–१ (बन्दमुखी योजना) परिपक्व भईसकेको छ । त्यस्तै, लक्ष्मी इक्विटी फण्ड (बन्दमुखी योजना) र लक्ष्मी उन्नती कोष (बन्दमुखी योजना) संचालन गरी नेप्सेमा कारोबार समेत भइरहेको छ ।क्यापिटलले लक्ष्मी भ्यालु फण्ड–१ का इकाईधनीहरुलाई जम्मा ६५ प्रतिशत प्रतिफल वितरण गरेको थियो । यस्तै, क्यापिटलले लक्ष्मी इक्विटी फण्डका इकाईधनीहरुलाई ४४.२५ प्रतिशत लाभांश वितरण गरेको छ भने लक्ष्मी उन्नती कोषका इकाईधनीहरुलाई २० प्रतिशत प्रतिफल वितरण गरेको छ ।
यसअघिका म्युचुअल फण्डले राम्रो प्रतिफल वितरण गरेकाले शुभलक्ष्मी कोषले पनि इकाईधनीहरुलाई राम्रो प्रतिफल दिनसक्ने अनुमान गरिएको छ । क्यापिटलको शुभलक्ष्मी कोष योजनाको रकमलाई विभिन्न क्षेत्रमा लगानी गरिनेछ । सोही क्षेत्रमा गरेको लगानीबाट उठेको आम्दानीलाई सबै छट्याएर इकाईधनीहरुलाई प्रतिफल दिनेछ । जसमा कम्पनीले ५ वर्षको प्रतिफल प्रक्षेपण गरेको छ ।
योजनाले पहिलो वर्ष ३७ प्रतिशत, दोस्रो वर्ष ४० प्रतिशत, तेस्रो वर्ष ४३ प्रतिशत, चौथो वर्ष ४७ प्रतिशत र पाचौं वर्ष ५१ प्रतिशतका दरले प्रतिफल वितरण गर्ने प्रक्षेपण गरेको छ ।













