खराब कर्जा उठाएसँगै मिथिला लघुवित्तको नाफामा सुधार, इपीएस कति ?

काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ५ करोड ७६ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ ।
संस्थाले आज प्रकाशित गरेको गत आवको चौथो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरणअनुसार लघुवित्तको नाफामा सामान्य सुधार देखिएको हो । अघिल्लो आवको तुलनामा यस आवमा लघुवित्तको नाफा २.६७ प्रतिशतले बढ्न पुगेको हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ५ करोड ६१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
यस अवधिसम्म लघुवित्तको सञ्चालन मुनाफा घटेपनि खराब कर्जा उठाउन सफल हुँदा लघुवित्तको खुद नाफा बढ्न पुगेको हो । समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ०.०७ प्रतिशत र सञ्चालन मुनाफा ७.१८ प्रतिशत घटेको छ । समीक्षा अवधिमा लघुवित्तको कुल सञ्चालन आम्दानी २.९६ प्रतिशत र अन्य सञ्चालन आम्दानी १०.६३ प्रतिशत बढेको छ ।
खुद नाफा बढेपनि लघुवित्तको प्रतिशेयर आम्दानी अर्थात ईपीएस भने घटेको छ । समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी १२ रुपैयाँ ३० पैसा घटेर ३३ रुपैयाँ ८३ पैसा पुगेको छ । असार मसान्तसम्ममा लघुवित्तको प्रतिशेयर नेटवर्थ १६८ रुपैयाँ २७ पैसा रहेको छ ।
समिक्षा अवधिसम्म लघुवित्तको चुक्तापुँजी १७ करोड ४ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा ११ करोड ६३ लाख रुपैयाँ सञ्चित रहेको छ । समीक्षा अवधिमा लघुवित्तको सापटी १८.४६ प्रतिशत, निक्षेप ४१.४६ प्रतिशत र कर्जा २८.६३ प्रतिशत बढेको छ ।













