यसकारण घट्यो बिजय लघुवित्तको खुद नाफा, प्रतिशेयर आम्दानी कति ?

काठमाडौं । बिजय लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको अन्त्यसम्ममा १० करोड ४७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
लघुवित्तले आज प्रकाशित गरेको गत आवको चौथो त्रैमाससम्मको वित्तीय विवरणअनुसार लघुवित्तको नाफा अघिल्लो आवको तुलनामा १६.२४ प्रतिशतले घटेको छ । अघिल्लो आवको यसै अवधिसम्ममा लघुवित्तले १२ करोड ५० लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।
यस अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी र संचालन मुनाफा दुबै घटेसँगै लघुवित्तको नाफामा गिरावट आएको हो । समिक्षा अवधिसम्म सस्थाको खुद ब्याज आम्दानी १०.३५ प्रतिशतले घटेर ३४ करोड १५ लाख कायम भएको छ भने संचालन मुनाफा १७ प्रतिशतले घटेर १५ करोड ८१ लाख रुपैयाँ सीमित हुन पुगेको छ ।
खुद नाफा घटेसँगै लघुवित्तको प्रतिशेयर आम्दानी (इपीएस) समेत घट्न पुगेको छ । यस अवधिसम्म लघुवित्तको इपीएस ३९ रुपैयाँ ७ पैसबाट घटेर ३२ रुपैयाँ ७२ पैसा कायम भएको छ भने प्रतिशेयर नेटवर्थ १७१ रुपैयाँ ५३ पैसा कायम भएको छ ।
यस अवधिसम्म लघुवित्तको कर्मचारी खर्च बढ्न पुगेको छ । यसकारण लघुवित्तले नाफामा सुधार गर्न नसकेको हो । अघिल्लो आवमा ११ करोड ५३ लाख ८७ हजार रुपैयाँमा सीमित भएको कर्मचारी खर्च यस अवधिसम्म बढेर १४ करोड ८९ लाख ३ हजार रुपैयाँ पुगेको छ ।
३२ करोड चुक्ता पुंजी रहेको लघुवित्तको रिजर्भमा २२ करोड ८८ लाख रुपैयाँ संचित रहेको छ । यस अवधिसम्म लघुवित्तको सापटी ६.१८ प्रतिशतले बढेर ३ अर्ब ८ करोड पुगेको छ भने निक्षेप १४.३६ प्रतिशतले बढेर १ अर्ब १३ करोड पुगेको छ । कम्पनीको कर्जा प्रवाह ९.०४ प्रतिशतले बढेर ४ अर्ब ७१ करोड पुगेको छ । कम्पनीको खराब कर्जा ४.६६ प्रतिशतबाट घटेर ४.०८ प्रतिशत कायम भएको छ ।













