अरुण भ्याली हाइड्रोपावरको आम्दानीसँगै नाफा बढ्यो, इपीएसमा सुधार

३० श्रावण २०७९, सोमबार १०:३१

काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले गत आर्थिक वर्षको असार मसान्तसम्ममा ८ करोड ९९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

कम्पनीले आज प्रकाशित गरेको गत आवको चौथो त्रैमाससम्मको वित्तीय विवरणअनुसार कम्पनीको नाफा अघिल्लो आवको तुलनामा १५.६८ प्रतिशतले बढेको छ । अघिल्लो आवको यसै अवधिसम्ममा कम्पनीले ७ करोड ७७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

यस अवधिसम्म कम्पनीको विद्युत बिक्री आम्दानी उल्लेख्य बढेसँगै खुद नाफा बढ्न पुगेको हो । असार मसान्तसम्ममा कम्पनीको विद्युत बिक्री आम्दानी १६०.४९ प्रतिशत बढेको छ । त्यसैगरी, कम्पनीको अन्य श्रोतबाट हुने आम्दानी १.४३ प्रतिशत बढेको छ भने कुल आम्दानी ६५.७० प्रतिशत बढेको छ । कम्पनीको सञ्चालन मुनाफा ६०.०२ प्रतिशत बढेको छ ।

१ अर्ब रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा १५ करोड २ लाख रुपैयाँ सञ्चित छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३५.७४ प्रतिशत कम हो ।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि सामान्य बढेको छ । समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी २६ पैसा बढेर ५ रुपैयाँ २० पैसा पुगेको छ । असार मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १०८ रुपैयाँ ६९ पैसा रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*