लघुवित्त कम्पनीहरुका विरुद्ध संघर्ष समितिको नाममा गाउँ गाउँमा गतिविधि, गृहमन्त्रालयले काट्यो पत्र

काठमाडौं । नेपालमा सञ्चालित लघुवित्त वित्तीय संस्थाहरुका विरुद्धमा गाउँ गाउँमा लघुवित्त विरुद्ध संघर्ष समिति गठन गरी अभियान चलाउन थालेको खुलेको छ । लघुवित्तहरुको गतिविधिले गाउँ गाउँमा कार्यरत रहेका लघुवित्त कम्पनीहरुलाई अप्ठेरो परेपछि गृहमन्त्रालयले पत्र नै काटेर लघुवित्त कम्पनीहरुका विरुद्धमा संघर्ष समितिको नाममा भइरहेको गतिविधि नियमन गर्न भनेको छ ।
गृह मन्त्रालय शान्ति सुरक्षा तथा अपराध नियन्त्रण महाशाखाले ‘लघुवित्त विरुद्ध संघर्ष समिति’ नामको अवैधानिक समूहलाई कारबाही गर्न निर्देशन दिएको छ । गृह मन्त्रालयले भदौ १ गते एक परिपत्र जारी गर्दै लघुवित्त क्षेत्रमा काम गर्ने लघुवित्तकर्मीहरुलाई कार्यक्रम बन्द गर्न धम्की दिई मनोबल कमजोर गराउने जस्ता क्रियाकलाप भएको पाइएकोमा नेपाल प्रहरीलाई छानबिन गरी पक्राउ गर्न निर्देशन दिएको हो ।
नेपाल लघुवित्त बैंकर्स संघले मन्त्रालयसमक्ष ‘लघुवित्त विरुद्ध संघर्ष समिति’ नामको अवैधानिक समूहले सुनियोजित तवरले आन्दोलन गरि कार्यक्रममा अवरोध सिर्जना गर्ने, कपोल्कपीत आक्षेप लगाई अनर्गल प्रचार गर्ने, यस क्षेत्रमा काम गर्ने लघुवित्त कर्मीहरुलाई कार्यक्रम बन्द गर्न धम्की दिई मनोबल कमजोर गराउने, सोझा सदस्यहलाई वित्तीय सेवा उपभोग गर्न बाधा पुर्याई लघुवित्त कार्यक्रमलाई नै धरायसी बनाउने कोशिस भइरहेको भन्दै साउन ३० गते पत्र पठाएको थियो ।
बीमापोष्टलाई प्राप्त सूचना अनुसार मणिराम ज्ञवाली नाम गरेका व्यक्तिले आफ्नो संयोजकत्वमा लघुवित्त विरुद्ध संघर्ष समिति गठन गरेर गाउँ गाउँमा लघुवित्त कम्पनीहरुले गरिब, किसानहरुको घरबास उठाएको, सुकुम्बासी बनाएको भन्दै आन्दोलन गरिरहेका छन् । ज्ञवाली नेतृत्वको समितिले धादिङ, मकवानपुर, ललितपुर, काठमाडौं, नुवाकोटसहितका जिल्लाहरुमा लघुवित्ति कम्पनीहरुले किसानसँग अत्याधिक चर्को ब्याज लिएको, किसानहरुको सम्पत्ति लिलाम गरेर आत्महत्या गर्न बाध्य बनाएको आरोप लगाउँदै आएको छ ।
बैंकर्स संघले पठाएको उक्त पत्रलाई सम्बोधन गर्दै मन्त्रालयले प्रहरी प्रधान कार्यालय, नक्साल काठमाडौंलाई सम्पूर्ण छानबिन गरी आवश्यक कारबाही गर्न निर्देशन दिएको हो ।
पछिल्लो समय लघुवित्त वित्तीय संस्थाहरुबाट कर्जा लिएर समयमै किस्ता नतिर्ने वा लघुवित्त संस्थाहरुले कर्जा चुकाउन र किस्ता समयमै तिर्न धम्की दिएको ऋणीहरुले आरोप लगाउँदै आइरहेका छन् । लघुवित्तहरुले कर्जा चुकाउन दबाब दिएको भन्दै यस्ता खालका समितिहरु गठन भएका छन् । केही समयअघि लघुवित्तबाट लाखौं कर्जा लिएर किस्ता तिर्न नसकेको आरोपमा लुक्दै हिडेको समाचारहरु बाहिरिएका थिए । लघुवित्त विरुद्ध संघर्ष समितिले केही समयअघिदेखि लघुवित्तकर्मीहरुलाई किस्ता उठाउँन जाँदा धम्की दिने खालका क्रियाकलापहरु गर्दै आएका थिए ।














