बैंकहरुको सीडी रेसियो घट्यो, एकैदिन थपियो १५ अर्ब निक्षेप

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप एकैदिनमा १५ अर्बले बढेको छ । नेपाल राष्ट्र बैंकले आज प्रकाशित गरेको साउन ३१ गतेसम्मको विवरणअनुसार बैंकहरुको निक्षेप एकैदिनमा १५ अर्बले बढ्न पुगेको हो ।
साउन ३० गतेसम्म ५० खर्ब १९ अर्ब रुपैयाँ रहेको बैंकहरुको निक्षेप एकैदिनमा १५ अर्बले बढेर साउन ३१ गतेसम्म ५० अर्ब ३४ अर्ब पुगेको हो । केही दिनअघि बैंकहरुबाट अर्बौ अर्बौको निक्षेप बाहिरिएसँगै बैंकहरु कर्जा प्रवाह गर्नै नसक्ने अवस्थामा पुगेका थिए ।
निक्षेप बढेसँगै कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) समेत घट्न पुगेको छ । साउन ३० गतेसम्म ८८.२७ प्रतिशत रहेको बैंकहरुको सीडी रेसियो साउन ३१ गतेसम्म घटेर ८८.०७ प्रतिशत कायम भएको छ ।
एकैदिनमा १५ अर्ब निक्षेप थपिँदा बैंकहरुमा कर्जा परिचालनमा केही सहजता थपिन पुगेको छ । साउन ३१ गतेसम्म बैंक तथा वित्तीय संस्थाको निक्षेप ५० खर्ब ३४ अर्ब पुग्दा कमर्सियल बैंकहरुको मात्रै ४४ खर्ब ३४ अर्ब रुपैयाँ रहेको छ ।
साथै सोही अवधिसम्म बैंक तथा वित्तीय संस्थाहरुले ४७ अर्ब कर्जा लगानी गरेका छन् । जसमध्ये वाणिज्य बैंकहरुले मात्रै ४१ खर्ब ७२ अर्ब ऋण प्रवाह गरेका छन् ।














