पिपुल्स पावर कम्पनीको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । पिपुल्स पावर लिमिटेडको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । साउन ३१ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेका कम्पनीको आईपीओमा आज (भदौ ५ गते) कार्यालय समयसम्म मात्रै आवेदन दिन सकिनेछ ।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि आईपीओ निष्काशन गरेपश्चात सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको हो । कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका २४ लाख ६७ हजार ४०० कित्ता शेयर निष्काशन गरेको हो। सोमध्ये २ प्रतिशत अर्थात ४९ हजार ३४८ कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात १ लाख २३ हजार ३७० कित्ता शेयर सामूहिक लगानी कोषहरुमा बाँडफाँट गरिएको छ । सर्वसाधारणले बाँकी २२ लाख ९४ हजार ६८२ कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् ।
लगानीकर्ताले न्यूनतम १० कित्ता शेयर खरिदका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा ५० हजार कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् । आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपाले कम्पनीलाई केयर एनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिइ आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट आवेदन दिन सक्नेछन् ।













