आइपीओ भर्दा अब आश्वा शुल्क अधिकतम ५ रुपैयाँ लाग्ने

काठमाडौं । नेपाल नेपाल धितोपत्र बोर्ड (सेबोन)ले आइपीओ वा अन्य सार्वजनिक धितोपत्र निष्काशनमा लाग्ने सि–आश्वा चार्ज घटाउने भएको छ । भदौ ५ गते बसेको धितोपत्र बोर्ड बैठकले सि–आश्वा शुल्क घटाउने विषयमा छलफल गरेको हो ।
आईपीओ लगायतका सार्वजनिक निष्कासनमा अधिकतम ५ रूपैयाँसम्म मात्रै शुल्क लिन पाउने गरि बोर्डमा प्रस्ताव लगेर छलफल भएको छ । बोर्डका अनुसार यो व्यवस्था अब चाँडै लागू गरिनेछ ।
जसमध्ये १ रूपैयाँ सार्वजनिक निष्कासन गर्ने कम्पनीले नियुक्त गरेको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकले पाउनेछ भने १ रूपैयाँ सिडिएस एण्ड क्लियरीङ लिमिटेडले प्राप्त गर्नेछ । अधिकतम शुल्क पाँच रूपैयाँ तोकिएको भए पनि त्यसभन्दा कम लिन सक्ने बार्डले जनाएको छ ।
पछिल्लो समय केही बैंकहरुले आइपीअो भर्दा चर्को आ–आश्वा शुल्क लिने गरेका छन् । चारवटा वाणिज्य बैंकले निःशुल्क सेवा दिदा केही बैंकहरुले यस्ता सार्वजनिक धितोपत्र निष्काशनमा चर्को आश्वा शुल्क लिदा लगानीकर्ताहरु मर्कामा परेका छन् । जसमध्ये स्ट्याण्डर्ड चार्टर्ड बैंकले सि–आश्वा शुल्क स्वरुप १०० रुपैयाँ लिने गरेको छ । धेरैजसो बैंकहरुले २० रुपैयाँ सि–आश्वा शुल्क लिने गरेको देखिएको छ ।
पछिल्लो समय कुनैपनि कम्पनीको साधारण शेयर (आइपीओ) निष्काशन हुँदा १८।२० लाखको आवेदन पर्ने गरेको छ । यसरी मागभन्दा सय गुणा नै बढी आवेदन पर्दा आवेदककर्तामा धितोपत्र पाउने चान्स एकदमै न्युन हुन्छ । गोलाप्रथाबाट धितोपत्र बाँडफाँड गरिदा नपाउने चान्स धेरै हुन्छ । प्रत्येक आइपीओ भर्दा लगातार आइपीओ नपरेको खण्डमा आवेदकर्ता मर्कामा पर्न जान्छ ।
जस्तै, स्ट्याण्डर्ड चार्टर्ड बैंकमा हितग्राही खाता हुनेले १० वटा आइपीअो भर्दा मात्रै आश्वा शुल्कस्वरुप मात्रै १००० रुपैयाँ तिनुपर्ने देखिन्छ । यसरी बैंकहरुले चर्को आश्वा शुल्क लिने गर्दा हितग्राहीहरु मर्कामा पर्ने गरेकाले धितोपत्र बोर्ड आश्वा शुल्क घटाउने प्रयत्नमा लागेको हो ।













