दश वर्षपछि बिओके र हिमालयन बैंकले पायो मुद्दा जितेको पैसा

काठमाडौं। हिमालयन बैंक र बैंक अफ काठमाण्डू (बीओके)ले १० बर्षएपछि चीनमा मुद्दा जितेपछि मंगलबार सम्पूर्ण पैसा फिर्ता पाएका छन्। बैंक जमानतको रकम फिर्ता नहुँदा दुई बैंकको ठूलो रकम फसेको थियो। दुबै बैंकले गत साउन १५ गते मुद्दा जितेका थिए। करिव २० दिनपछि उनीहरुले पैसा फिर्ता पाएका हुन्।
बैंक अफ काठमाण्डूले अमेरिकी डलर ६६ लाख २५ हजार १० र १४ लाख ११ हजार ४५३ युरो फिर्ता पाएको जनाएको छ। त्यस्तै, हिमालयन बैंकले ६६ लाख ५० हजार डलर फिर्ता पाएको प्रमुख कार्यकारी अधिकृत अशोक राणाले जानकारी दिएका छन् ।
मेलम्ची खानेपानी आयोजनासँग सम्बन्धित जमानतमा भएको नोक्सानी असुलउपरको मुद्दा चीनको अदालतमा सुनुवाइ भइरहेको थियो। यसका लागि दुवै बैंकले आफ्ना प्रतिनिधिहरु चीन पठाएका थिए।
१० वर्षदेखि विभिन्न तहका अदालतहरुमा निरन्तर बहस चलेको थियो। हरेक पटक बैंकहरुको पक्षमा फैसला आए पनि माथिल्लो तहमा जाने कारणले फिर्ता हुन सकेको थिएन।













