चिलिमे हाइड्रोपावरको नाफामा देखिएन सुधार, अन्य सुचाङ्क कस्तो ?

२९ माघ २०७९, आईतवार १२:३२

काठमाडौं । चिलिमे हाइड्रोपावर कम्पनीले चालु आर्थिक वर्ष २०७९।८० को दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार कम्पनीको नाफामा सामान्य गिरावट आएको हो ।

कम्पनीले चालु आवको ६ महिनामा ३९ करोड ३८ लाख ७३ हजार रुपैयाँ खुद नाफा गरेको छ । यो गत वर्षको पुस मसान्तसम्मको तुलनामा भने १.८३ प्रतिशतले कमी हो । गत वर्षको सोही अवधिमा कम्पनीले ४० करोड १२ लाख ३० हजार रुपैयाँ नाफा कमाएको थियो ।

सो अवधिमा कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानीमा झिनो सुधार देखिएको छ । गत वर्षको पुस मसान्तसम्मको तुलनामा कम्पनीको यस्तो आम्दानी १.८६ प्रतिशतले वृद्धि भई ६३ करोड ६५ लाख ५९ हजार रुपैयाँ कायम भएको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ६२ करोड ४८ लाख ९४ हजार रुपैयाँ आम्दानी गरेको थियो ।

सो अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी वृद्धि भएपनि खर्च बढेकाले नाफामा घटेको हो । चालु आवको ६ महिनामा कम्पनीको संचालन नाफामा पनि ३.७९ प्रतिशतले घटेर ४० करोड ९९ लाख ४५ हजार रुपैयाँ कायम भएको छ ।

कम्पनीको वित्तीय आम्दानीमा भने बढोत्तरी देखिएको छ । सो अवधिमा कम्पनीको यस्तो आम्दानी ७.८६ प्रतिशतले बढेर ९ करोड ८४ लाख ७१ हजार रुपैयाँ पुगेको छ । कम्पनीको चुक्ता पुँजी ७ अर्ब २५ करोड ८१ लाख ७९ हजार रुपैयाँ रहेको छ । कम्पनीको रिटेन अर्निङ्ग ३ अर्ब ४० लाख ४३ हजार रुपैयाँ रहेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानीमा पनि १ रुपैयाँ ३ पैसाको कमी आई १० रुपैयाँ ८५ पैसा कायम भएको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ भने १४१ रुपैयाँ ३९ पैसा रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*