नयाँ अर्थमन्त्रीको आगमनमा शेयरबजारमा छाएन रौनक, नेप्से २३ अंकले घट्दा सबै उपसूचक राताम्य

१९ चैत्र २०७९, आईतवार १५:१६

काठमाडौं । साताको पहिलो दिन शेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से सूचक २३ अंकले घटेर १८८५ को विन्दुमा कायम हुन पुगेको छ ।

नयाँ अर्थमन्त्रीको आगमनसँगै शेयरबजारमा सकारात्मक सुधार आउने अपेक्षामा बसेका लगानीकर्ताहरुमा निराशापन छाएको छ । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाश शरण महत अर्थमन्त्रीमा नियुक्त भएर पदभार ग्रहण गरेतापनि शेयरबजारमा खासै रौनक छाउन सकेन ।

अर्थमन्त्रीमा नियुक्त भएसँगै संकटपूर्ण अर्थतन्त्रलाई लयमा फर्काउने र लगानीको वातावरण समेत बनाउने प्रतिबद्धता जाहेर गरेका थिए । लगानीको उचित वातावरण बनाउने प्रतिबद्धता जाहेर गरेतापनि शेयर लगानीकर्ताहरुले घट्दो मार्केटको कारण दैनिक लाखौं रुपैयाँ लगानी गुमाउनु परेको छ ।

आज नेप्सेमा सूचीकृत २६० कम्पनीको ३६ लाख ४९ हजार १९६ कित्ता शेयर किनबेच हुँदा एक अर्ब १६ करोड २६ लाख रुपैयाँमाथिको कारोबार भएको छ । शेयरबजारको घट्दो अवस्थासँगै लगानीकर्ताहरु निरुत्साहि बन्दा कारोबार समेत घटेर सवा एक अर्बमा सीमित हुन पुगेको छ ।

नेप्सेमा रहेका सबै उपसूचक आज राताम्य रहेका छन् । सर्वाधिक व्यापार इन्डेक्स २.५८ प्रतिशत र हाइड्रोपावर इन्डेक्स १.६३ प्रतिशतले घटेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*