मकर जितुमायाको आइपीओ आज बाँडफाँड हुँदै, कति जनाले पाँउदैछन् १० कित्ता शेयर ?

काठमाडौं । मकर जितुमाया सुरी हाइड्रोपावर कम्पनीको आइपीओ आज (चैत २९ गते) बाँडफाँड हुदैछ । बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार बुधबार दिउँसो १.३० बजे क्यापिटलकै कार्यालयमा बाँडफाँट गर्ने तयारी भएको छ ।
आइपीओको प्री–अलमेन्ट सम्पन्न भइसकेको छ । यता, मकर जितुमायाको आइपीओ हात पार्न भाग्यकै भरपर्नु पर्ने अवस्था रहेको छ । सो आइपीओमा मागभन्दा ११.११ गुणा बढी आवेदन परेको छ । यसर्थ गोलाप्रथाबाट आइपीओ बाँडफाँट हुनेछ । यसमा १३ लाख २५ हजार ८४७ जनाले कुल १ करोड ४७ लाख ३५ हजार ५३० कित्ताको लागि आवेदन दिएका छन् । जसमा १ लाख ३३ हजार ७३० जनाले मात्र सेयर हात पार्नेछन् । ११ लाख ९२ हजार ११७ जनाको भने हात खाली हुनेछ ।
हाइड्रोपावरले चैत १९ गतेदेखि २२ गतेसम्म २२ करोड ८० लाख रुपैयाँ बराबरको आइपीओ जारी गरेको हो । यसअनुसार यसले प्रतिकित्ता १०० अंकित मूल्यका दरले २२ लाख ८० हजार कित्ता साधारण सेयर निष्कासन गरेको हो । यसमध्ये ५% (८० हजार कित्ता सामूहिक लगानी कोष) र २% अर्थात् ३२ लाख २८ हजार कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको थियो । बाँकी १३ लाख ३७ हजार ३०२ कित्तामा सर्वसाधारणले आवेदन दिन सक्ने ब्यवस्था थियो ।












