थ्रीस्टार हाइड्रोपावरले वैशाख ११ बाट आईपीओ निष्काशन गर्दै, क–कसले दिन पाउन्छन् आवेदन ?

४ बैशाख २०८०, सोमबार १०:१८

काठमाण्डौ । थ्रीस्टार हाइड्रोपावर लिमिटेडले वैशाख ११ गतेदेखि आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्काशन गर्ने भएको छ ।

कम्पनीले स्थानीयलाई जारी पुँजी ४९ करोड २५ लाख रुपैयाँको १० प्रतिशतले हुन आउने ४ करोड ९२ लाख ५० हजार रुपैयाँबराबरको आईपीओ निष्काशन गर्ने छ। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा ४ लाख ९२ हजार ५०० कित्ता सेयर निष्काशन गर्ने छ । कम्पनीले स्थानीयका लागि जारी आईपीओमा आयोजना प्रभावित क्षेत्र खोटाङ हलेसी तुवाचुङ नगरपालिका वडा नं. १ देखि ११ सम्म र दिप्रुङ चुईचुम्मा गाउँपालिका वडा नं. १ देखि ७ सम्मका बासिन्दाले खरिद आवेदन दिन सक्नेछन्।

यसैगरी कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई भने सर्वसाधारणका लागि जारी हुने जारी पुँजीको १५ प्रतिशतले हुन आउने ७ करोड ३८ लाख ७५ हजार रुपैयाँको १० प्रतिशतले हुन आउने ७३ लाख ८७ हजार ५०० रुपैयाँबराबरको आईपीओ बिक्री खुला गर्नेछ। जसअनुसार १०० रुपैयाँ अंकित दरका कुल ७३ हजार ८७५ कित्ता निष्काशन गर्ने छ । स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीले न्यूनतम १० कित्ताका लागि आवेदन दिन सक्नेछन्। अधिकतममा भने स्थानीयले ४ लाख ९२ हजार ५०० कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीले ७३ हजार ८७५ कित्ताका लागि खरिद आवेदन दिन सक्नेछन् ।

वैदेशिक रोजगारीमा रहेकाले वैशाख २५ गतेसम्म आवेदन दिन पाउनेछन्। स्थानीयका लागि जारी आईपीओको निष्कासन बन्द पनि छिटोमा वैशाख २५ गते र ढिलोमा जेठ ९ गते बैंकिङ समयपछि बन्द हुनेछ। स्थानीयाले खोटाङमा रहेका सानिमा बैंक, राष्ट्रिय वाणिज्य बैंक, ग्लोबल आइएमई बैंक, ज्योति विकास बैंक, प्रभु बैंक र थ्रीस्टार हाइड्रोपावरको साइट कार्यालयबाट आवेदन दिन सक्नेछन्। वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने नेपाल धितोपत्र बोर्डबाट सी–आस्बा सेवा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।

यो आईपीओको बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल लिमिटेड रहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*