अर्थमन्त्री डा. महतले उठाए एकैदिन नौ अर्ब बढि राजश्व, चालु खर्च धान्ने आशा जाग्यो

काठमाडौं । चालु आवको १० महिना बित्न लाग्दा पनि राजश्व संकलनको अवस्था दयनीय भइरहेको बेला हिजो एकै दिन नौ अर्ब भन्दा बढि रकम सरकारी खातामा जम्मा भएको छ ।
महालेखा नियन्त्रण कार्यालयका अनुसार हिजो एकै दिन कूल नौ अर्ब ४० करोड ५८ लाख रुपैयाँ सरकारी खातामा जम्मा भएको छ । सो मध्ये आठ अर्ब ९५ करोड १५ लाख रुपैयाँ राजश्व बापत संकलन भएको छ भने ४५ करोड ४३ लाख रुपैयाँ गैर कर बापतको रकम सरकारी खातामा जम्मा भएको छ । त्यस्तै, अन्य आय बापत २७ लाख रुपैयाँ सरकारी खातामा जम्मा भएको छ ।

हिजो सरकारले ५९ करोड चार लाख रुपैयाँ विकास आयोजनामा भुक्तानी गरेको छ भने दुई अर्ब ९७ करोड २५ लाख रुपैयाँ चालु खर्च गरेको छ ।
सरकारी खाता ऋणात्मक हुँदा सरकारमाथि खर्चको लागि स्रोत जुटाउन चर्को दवाव परिरहेको बेला हिजो एक दिन नौ अर्ब रुपैयाँ भन्दा बढि रकम सरकारी खातामा जम्मा भएसँगै चर्को घाटामा रहेको सरकारी खातालाई राहत मिल्ने देखिएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले राजश्व संकलनलाई तीव्र बनाउँदै लगेका कारण राजश्व संकलन ह्वात्तै बढेको अर्थ मन्त्रालयका अधिकारीहरुको भनाई छ ।











