आइएमई जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्सको एकिकृत कारोबार आजदेखि शुभारम्भ

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स कम्पनी र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले आजदेखि एकिकृत कारोबार शुभारम्भ गर्दैछ । आजदेखि आइएमई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको नामबाट यी कम्पनीले एकिकृत कारोबार गर्ने भएको हो ।
एकिकृत कारोबारपश्चात् कम्पनीको अध्यक्ष र सिईओ दुबै आइएमई जनरल इन्स्योरेन्सले पाउने छन्। नयाँ कम्पनीको अध्यक्ष हेमराज ढकाल र सीईओ युगेश भक्त बादे श्रेष्ठ बन्ने छन् । त्यस्तै, श्रवण रावल वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत ९सिनियर डीसीईओ० हुनेछन् । रावल साविक प्रुडेन्सियल इन्स्योरेन्सका सीईओ हुन् ।
नेपाल इन्स्योरेन्ससँग मर्जर भाडिएपछि दुई कम्पनीले गत माघ २७ गते मर्जरमा जान प्रारम्भिक सम्झौता गरेका थिए । नियामक निकाय नेपाल बीमा प्राधिकरणले चैत २६ गते दुई कम्पनीलाई अन्तिम स्वीकृति दिएको थियो ।
मर्जरपछि यस्तो बन्दैछ कम्पनी
कुल बीमा शुल्कको आधारमा
चालु आवको तेस्रो त्रैमाससम्म यी दुबै कम्पनीको कुल बीमा शुल्क आर्जन बढेको देखिएको छ । समिक्षा अवधिसम्म आइजीआई र प्रुडेन्सियल इन्स्योरेन्स दुबैको व्यवसाय बढेको देखिएको हो । तर तुलनात्मक रुपमा हेर्दा प्रुडेन्सियल इन्स्योरेन्स भन्दा आइजीआइले यस अवधिसम्म बढी बीमा शुल्क आर्जन गर्न सफल भएको छ ।
प्रुडेन्सियलले चैत मसान्तसम्म १ अर्ब ४ करोड रुपैयाँ ५१ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ भने आइएमई जनरलले एक अर्ब ४२ करोड २२ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । गत वर्षको तुलनामा प्रुडेन्सियलको व्यवसाय ४।४० प्रतिशतले मात्रै बढेको छ भने आइजीआइको १०।५८ प्रतिशतले बढेको छ ।

कोषको आधारमा
बीमा कम्पनीहरुले प्रत्येक तीन–तीन महिनामा वित्तीय विवरण प्रकाशित गर्दा बीमा कोष, जगेडा कोष र महाविपत्ती कोषमा रकम संचित गरेको हुुनपर्दछ । बीमा कम्पनीहरुले बीमा ब्यवसाय गर्दा आर्जन गरेको मुनाफाको केही प्रतिशत रकम यस्ता कोषहरुमा छुट्याएर राख्नुपर्ने प्रावधान रहेको छ ।
यस आधारमा आइजीआइले चैत मसान्तसम्म बीमा कोषको आकार ३.४६ प्रतिशत बढाएर कोषमा ६३ करोड २२ लाख ७२ हजार रुपैयाँ मात्रै संचित गरेको छ भने यता प्रुडेन्सियलले बीमा कोषको आकार १०.९९ प्रतिशतले बढाएर कोषमा ७२ करोड ५४ लाख ६७ हजार रुपैयाँ संचित गरेको छ । बीमा कोषको आधारमा भने आइजीआइ भन्दा प्रुडेन्सियल अब्बल देखिएको छ ।
त्यस्तै, यता जगेडा कोषको आकार भने दुबै कम्पनीको घट्न पुगेको देखिएको छ । दुई कम्पनी एक आपसमा मर्ज भई एकीकृत कारोबार संचालन गर्न लागेका कारण पनि जगेडाको रकम चलाएर व्यवस्थापनमा खर्चिएको देखिएको छ । यस अवधिसम्म आइजीआइको जगेडा २३.७३ प्रतिशतले घटेको भने प्रुडेन्सियलको ७६ प्रतिशतले घट्न पुगेको छ । दुबै कम्पनीले जगेडा कोषको रकमबाट व्यवस्थापन लगायतका अन्य शिर्षकका खर्चमा खर्चिएका कारण यी दुबै कम्पनीको जगेडा कोषको आकार घट्न पुगेको हो । साथै प्रुडेन्सियलले महाविपत्ती कोषको आकार ३४ प्रतिशतले बढाएको छ भने आइजीआइले महाविपत्ती कोष वित्तीय विवरणमा देखाएको छैन ।
खुद दाबी भुक्तानीको आधारमा
चालु आवको चैत मसान्तसम्म आइपुग्दा यी दुबै कम्पनीको दाबी भुक्तानी बढेको छ । समिक्षा अवधिसम्म प्रुडेन्सियलले २१ करोड ६९ लाख रुपैयाँको दाबी भुक्तानी गरको छ भने आइजीआइले २५ करोड ३९ लाख रुपैयाँको दाबी भुक्तानी गरेको छ । तुलनात्मक रुपमा हेर्दा प्रिमियम कलेक्सनमा आइजीआइ अब्बल देखिएपनि बीमा कम्पनीको उत्तरदायित्व अन्तर्गत दाबी भुक्तानीमा अब्बल प्रुडेन्सियल इन्स्योरेन्स देखिएको छ ।
आइजीआइको दाबी भुक्तानी गत आवको तुलनामा १४.६८ प्रतिशतले बढेको हो भने प्रुडेन्सियलको २२.४२ प्रतिशतले बढेको छ ।
लगानी, कर्जा तथा पुनर्बीमा कमिशनबाट हुने आयको आधारमा
लगानी, कर्जा तथा पुनर्बीमा कमिशनबाट हुने आम्दानीमा आइजीआई भन्दा प्रुडेन्सियल इन्स्योरेन्स बलियो देखिएको छ । समिक्षा अवधिसम्म प्रुडेन्सियलको यस्तो आम्दानी २८.८५ प्रतिशतले बढेर ३१ करोड १५ लाख रुपैयाँ पुगेको छ भने आइजीआइको ३१.५० प्रतिशतले बढेर १३ करोड ६६ लाख रुपैयाँ पुगेको छ । तर गत आवको तुनलामा बृद्धिदरको आधारमा भने प्रुडेन्सियलको भन्दा आइजीआइको बढेको देखिएको छ ।
खुद नाफाको आधारमा
चालु आव २०७९।८० को तेस्रो त्रैमाससम्म आइपुग्दा आइएमई जनरल इन्स्योरेन्सको खुद नाफा सामान्य बढ्न पुगेको छ भने यता प्रुडेन्सियको खुद नाफा घट्न पुगेको छ ।
चैत मसान्तसम्म आइपुग्दा आइजीआइले १७ करोड ३२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ भने प्रुडेन्सियलले १० करोड ३ लाख रुपैयाँ नाफा कमाएको छ । आइजीआइको यो नाफा गत आवको तुलनामा ३.०४ प्रतिशतले बढी हो भने प्रुडेन्सियलको गत आवको तुलनामा ११.६५ प्रतिशतले कम हो । यस आधारमा खुद नाफाको आधारमा भने प्रुडेन्सियल भन्दा आइजीआई अब्बल देखिएको छ ।
जारी बीमा पोलिसी संख्याको आधारमा
चैत मसान्तसम्म जारी बीमा पोलिसी संख्या आइजीआईको भन्दा प्रुडेन्सियल इन्स्योरेन्सको बढी रहेको छ । यस अवधिसम्म प्रुडेन्सियलको जारी बीमा पोलिसी संख्या एक लाख ३ हजार ९७८ रहेको छ भने आइजीआइको ९० हजार १९९ मात्रै रहेको छ ।
प्रतिशेयर आम्दानी र प्रतिशेयर नेटवर्थको आधारमा
चालु आवको ९ महिनासम्ममा आइएमई जनरल इन्स्योरेन्सको प्रतिशेयर आम्दानी (इपीएस) वार्षिकी १२ रुपैयाँ ८० पैसा रहेको छ भने प्रुडेन्सियल इन्स्योरेन्सको १० रुपैयाँ ९२ पैसा रहेको छ ।
त्यस्तै, आइजीआइको प्रतिशेयर नेटवर्थ १४८ रुपैयाँ ७५ पैसा रहेको छ भने प प्रुडेन्सियलको १८३ रुपैयाँ २७ पैसा रहेको छ । इपीएसको आधारमा प्रुडेन्सियल भन्दा आइजीआई अब्बल देखिएको छ भने नेटवर्थको आधारमा भने आइजीआई भन्दा प्रुडेन्सियल इन्स्योरेन्स बलियो देखिएको छ ।











