प्रधानमन्त्रीले सांसदको नाम पटक–पटक त्रुटी गरेपछि एक सांसदले भने-मेरो नाम नझुक्किनु होला

८ असार २०८०, शुक्रबार १२:३२

काठमाडौं । प्रधानमन्त्रीसँग सांसदहरूको प्रश्नोत्तरका क्रममा सांसद नाम थाहा नपाएपछि यस बिषयमा सभामुखको सहयोग मागेका छन्।प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग शुक्रबारको प्रश्नोत्तरका क्रममा प्रधानमन्त्री कार्यालयले पर्याप्त तयारी नगरेका कारण पटकपटक झुक्किएको थियो ।
एमालेका अच्युत मैनाली र कांग्रेसका अजय चौरसियापछि प्रश्न सोध्न सभामुख देवराज घिमिरेले कांग्रेस सांसद अन्जनी श्रेष्ठको नाम बोलाए । उनले आफ्नो प्रश्न पनि राखिन् ।

तर, प्रधानमन्त्रीले उनलाई चिन्न सकेनन् र सभामुखको सहयोग मागे । सभामुखले अन्जनी श्रेष्ठको नाम लिएपछि प्रधानमन्त्रीले जवाफ दिए ।त्यस्तै कांग्रेस सांसद अम्बिका बस्नेतलाइ प्रधानमन्त्रीले चिन्न सकेनन् । पूर्वमन्त्री समेत रहेकी बस्नेत चर्चित कांग्रेस नेता पनि हुन् । तर, प्रधानमन्त्रीले उनलाई पनि नामले चिन्न नसकेपछि पुनः सभामुखको सहयोग मागे ।
सभामुखले अम्बिका बस्नेत भनेर चिनाएपछि प्रधानमन्त्री पुनः अलमलिए । उनले अम्बिका बस्नेतको प्रश्न हराएपछि पुनः प्रश्न सोध्न आग्रह गरे । प्रधानमन्त्रीले यस्तो हुनुमा आफ्नो तयारीमा कमजोरी देखिएको समेत स्वीकार गरेका थिए ।

प्रधानमन्त्रीको तयारीमा कमजोरी देखेपछि सांसद अशोककुमार चौधरीले आफ्नो पालामा भने, ‘सम्माननीय प्रधानमन्त्रीज्यू, मेरो नाम अशोककुमार चौधरी हो, फेरि झुक्किनु होला ।’

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*