प्रधानमन्त्रीको हस्तक्षेपछि इन्धनको मूल्यवृद्धि फिर्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हस्तक्षेप गर्दै इन्धनको मूल्यवृछि फिर्ता लिन लगाएका छन् । प्रधानमन्त्री प्रचण्ड आफैले चासो दिएपछि बसेको मन्त्रिपरिषद् बैठकले मूल्य वृद्धि फिर्ता लिन आयल निगमलाई निर्देशन दिएको हो ।
आयल निगमले शनिबार रातिदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो । सरकारको निर्देशनपछि निगमले विज्ञप्ति निकालेर पुरानै मूल्य निर्धारण गर्ने तयारी गरेको छ । शनिबार बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर २, डिजेल र मट्टितेलमा प्रतिलिटर ६ र खाना पकाउने ग्याँसमा प्रतिसिलिण्डर २१५ रुपैयाँ बढाउने निर्णय गरेको थियो ।
निगमले हवाइ इन्धन आन्तरिक र अन्तर्राष्ट्रिय दुवैमा प्रतिलिटर ८ रुपैयाँ बढाएको थियो । पुरानै मूल्य कायम अब हुँदा ग्याँसको मूल्य प्रतिसिलिण्डर १९९५ रुपैयाँ हुनेछ ।
यस्तै, पेट्रोलको मूल्य पहिलो वर्ग (चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज डिपोबाट बिक्री हुने ठाउँ) मा प्रतिलिटिर १८०.५ रुपैयाँ, दोस्रो वर्ग (सुर्खेत र दाङ) मा १८२ रुपैयाँ र काठमाडौं, पोखरा र दिपायलमा १८३ रुपैयाँ पुगेको छ ।
डिजेलको मूल्य पहिलो वर्गमा १७०.५, दोस्रो वर्गमा १७२ र तेस्रो वर्गमा १७३ रुपैयाँ प्रतिलिटर कायम भएको छ । आन्तरिकतर्फको हवाइ इन्धनको मूल्य प्रतिलिटर १३६ रुपैयाँ कायम हुने भएको छ ।












