‘आईपीओको खेतीले थलियो पुँजी बजार’

काठमाडौं । नेपालको पुँजी बजारमा देखिएको निरन्तरको गिरावट र लगानीकर्ताको घट्दो विश्वासप्रति संसदीय समितिको बैठकमा सरोकारवालाहरूले गम्भीर चिन्ता व्यक्त गरेका छन् । बुधबार बसेको प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको बैठकमा लगानीकर्ताका प्रतिनिधिहरूले दोस्रो बजारलाई सबल, व्यवस्थित र पारदर्शी बनाउन नियामक निकायको प्रभावकारिता बढाउनुपर्ने तथा नीतिगत सुधारलाई प्राथमिकता दिनुपर्ने बताएका हुन् ।
बैठकमा नेपाल सेयरधनी संघका अध्यक्ष घनश्याम पाण्डेले पछिल्लो समय बजारमा देखिएको समस्याका पछाडि संस्थापक लगानीकर्ताको ‘आईपीओ खेती’ गर्ने प्रवृत्ति र नियामकीय निगरानीको कमजोरी प्रमुख कारण रहेको दाबी गरे । उनका अनुसार संस्थापक लगानीकर्ताले आईपीओ निष्कासनमार्फत पुँजी जुटाउने, त्यसपछि लक–इन अवधि सकिएलगत्तै सेयर बिक्री गर्ने प्रवृत्तिले दोस्रो बजारमा आपूर्तिको दबाब बढाएको छ ।
हाइड्रोपावर तथा उत्पादनमूलक कम्पनीहरूमा पछिल्लो समय बढेको हकप्रद सेयर निष्कासनले समेत बजारमा थप आपूर्ति सिर्जना गरेको भन्दै लगानीकर्ताले यस विषयमा नियामकको ध्यानाकर्षण गराएका छन् । लक–इन अवधि पूरा हुनासाथ संस्थापक सेयर बजारमा आउने अवस्थाले आपूर्ति व्यवस्थापनमा चुनौती थपिएको पाण्डेको भनाइ छ । उनले यसलाई ‘भोटेकोशीको बाढीभन्दा बढी जोखिम’ निम्त्याउने अवस्थासँग तुलना गरे ।
लगानीकर्ताहरूले ब्रोकर सेवामा देखिएको ढिलासुस्ती र मार्जिन लेन्डिङसम्बन्धी व्यवस्थाको कार्यान्वयनप्रति समेत असन्तुष्टि जनाएका छन् । कानुनले १ लाख रुपैयाँको डिपोजिटमा ४ लाख रुपैयाँसम्मको लिमिट उपलब्ध गराउने व्यवस्था गरे पनि व्यवहारमा त्यसअनुसारको सुविधा पाउन कठिन भइरहेको उनीहरूको गुनासो छ । ब्रोकर प्रणालीमा अटोमेसनको सुविधा प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेको विषय पनि बैठकमा उठाइएको छ ।
त्यसैगरी, सेयर खरिद तथा बिक्री दुवैतर्फ लाग्ने कमिसन घटाउनुपर्ने माग पनि लगानीकर्ताले अघि सारेका छन् । उनीहरूले हालको दोहोरो कमिसनलाई ५० प्रतिशतसम्म घटाउनुपर्ने बताएका छन् ।
पाण्डेले नेपालको पुँजी बजारको दोस्रो बजारलाई व्यवस्थित, पारदर्शी र संस्थागत बनाउन अर्थ मन्त्रालयले अघि सारेको कार्ययोजनाप्रति सकारात्मक धारणा व्यक्त गरे । आईपीओ निष्कासनसम्बन्धी नेपाल धितोपत्र बोर्डको प्रस्तावित निर्देशिकाप्रति पनि समर्थन रहेको उनले बताए । यद्यपि, दोस्रो बजार निरन्तर कमजोर बन्दै जानु र लगानीकर्ताको विश्वास घट्दै जानु गम्भीर विषय भएको उनको भनाइ थियो ।
बैठकमा १० कित्ता सेयरको नीतिले बजार बिगारेको भन्ने तर्कप्रति समेत असहमति जनाइएको छ । उक्त नीतिले साना लगानीकर्तालाई पुँजी बजारमा प्रवेश गर्ने अवसर विस्तार गरेको भन्दै यसलाई बजारको समस्याको प्रमुख कारणका रूपमा हेर्न नहुने धारणा व्यक्त गरिएको छ ।
लगानीकर्ताका प्रतिनिधिहरूले पुँजी बजारलाई जुवाको रूपमा हेर्ने प्रवृत्ति अन्त्य गर्दै लगानीकर्ताको संरक्षणका लागि बैंक तथा बिमा क्षेत्रको जस्तै छुट्टै कानुनी व्यवस्था आवश्यक रहेको बताएका छन् ।











