डिम्याट खाता खोल्नेको सङ्ख्या ८० लाख ९५ हजार नाघ्यो

१४ आश्विन २०८३, बुधबार १०:४१

काठमाडौं । नेपालको धितोपत्र बजारमा लगानीकर्ताको सहभागिता उल्लेख्य रूपमा विस्तार भएको छ। नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. गोपालप्रसाद भट्टले सङ्घीय संसद्को अर्थ समितिमा पेस गरेको पछिल्लो तथ्याङ्कअनुसार देशभर डिम्याट खाता खोल्नेको सङ्ख्या ८० लाख ९५ हजार पुगेको छ।

बुधबार बसेको अर्थ समितिको बैठकमा अध्यक्ष भट्टले हालसम्म ५१ लाख २२ हजारभन्दा बढी ‘मेरो सेयर’ खाता सक्रिय रहेको जानकारी दिए। उनका अनुसार गत आर्थिक वर्षको असार मसान्तसम्म कारोबार खाता खोल्ने लगानीकर्ताको सङ्ख्या ३५ लाख ६२ हजारभन्दा बढी पुगेको छ।

बोर्डका अनुसार नेपालको पुँजी बजारमा प्राथमिक सेयरको हिस्सा अझै उच्च रहेको छ। सङ्गठित संस्थाहरूले सङ्कलन गरेको कुल पुँजीमध्ये साधारण सेयरको हिस्सा ४६.२६ प्रतिशत रहेको छ। त्यस्तै, संस्थागत ऋणपत्रको हिस्सा ३१.०३ प्रतिशत, सामूहिक लगानी कोषको १४.८१ प्रतिशत, विशिष्टीकृत लगानी कोषको ५.१७ प्रतिशत र अग्राधिकार सेयरको हिस्सा २.१७ प्रतिशत रहेको छ।

हालसम्म २० वटा विशिष्टीकृत लगानी कोषलाई ४८ अर्ब २५ करोड रुपैयाँ बराबरको पुँजी परिचालनका लागि स्वीकृति दिइएको बोर्डले जनाएको छ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) को सूचकाङ्क असोज १३ गतेसम्म २६०३.७१ बिन्दुमा कायम रहेको छ। सो अवधिसम्म कुल बजार पुँजीकरण ४४ खर्ब ७८ अर्ब रुपैयाँ पुगेको छ।

पुँजी बजारबाट राज्यको राजस्व सङ्कलनमा समेत उल्लेख्य योगदान पुगेको छ। आर्थिक वर्ष २०८२/८३ मा धितोपत्र बजारबाट १५ अर्ब ६१ करोड रुपैयाँ राजस्व सङ्कलन भएको थियो। चालु आर्थिक वर्षको भदौ मसान्तसम्म मात्रै १ अर्ब ५४ करोड रुपैयाँ राजस्व प्राप्त भएको अध्यक्ष भट्टले जानकारी दिए।

अध्यक्ष भट्टका अनुसार आर्थिक वर्ष २०८२/८३ मा बोर्डले ५२ वटा संस्थालाई ७९ अर्ब ७३ करोड रुपैयाँ बराबरको पुँजी परिचालन गर्न स्वीकृति दिएको थियो। चालु आर्थिक वर्षको असोज मसान्तसम्म चारवटा संस्थालाई ४ अर्ब ६० करोड रुपैयाँ बराबरको पुँजी परिचालनका लागि अनुमति दिइएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*