घटस्थापनाको एक हप्ता अगाडि अग्रिम टिकट बुकिङ् खुल्ने

१४ आश्विन २०८०, आईतवार १८:२६

काठमाडौं । सरकार र व्यवसायीले घटस्थापनाको एक साता अगावै दशैंँका लागि अग्रिम टिकट बुकिङ् खोल्ने तयारी थालेका छन् । बडा दशैंलाई लक्षित गरेर घटस्थापनाको एक हप्ता अगावै अग्रिम रूपमा टिकट बुकिङ् खोल्ने तयारी भइरहेको यातायात व्यवस्था विभागका सूचना अधिकारी ईश्वरीदत्त पनेरुले बीमापोष्टलाई जानकारी दिए ।

अहिलेसम्म मिति किटान नभए पनि पोहोर सालजस्तै योवर्ष पनि एक साता अघिबाट नै अग्रिम टिकट खोल्ने तयारी भएको पनेरुले बताए । उनले भने, ‘यो वर्षको दशैंका लागि अग्रिम टिकट घटस्थापनाको एक साता अघिबाट खोल्ने तयारी छ । मिति नै किटान नभए पनि गएको वर्ष जस्तै यो वर्ष पनि एक साताअघि खोल्ने गरी काम अघि बढेको छ ।’

यो वर्षको घटस्थापना असोज २८ गते छ । अग्रिम टिकट बुकिङ् खोल्ने विषयमा पहिलो चरणको वार्ता सकिएको पनेरुले जानकारी दिए । सुरक्षा, यातायात, सडक र ट्राफिक व्यवस्थापनसँग सम्बन्धित सरोकारवाला सबैसँग पहिलो चरणको छलफल भएको उनको भनाइ छ । आगामी आइतबार बुकिङको मिति तोकिने पनेरुले बताए ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयकुमार स्वाँरले अग्रिम टिकट बुकिङ् खोल्नुअघि नै देशका सबै सडक मर्मत तथा स्तरोन्नती गर्नुपर्ने माग सरकारलाई राखेको बताए ।

उपत्यकाबाट दशैँका लागि करिब २० लाख मानिस बाहिरिने गरेको तथ्याङक छ । घटस्थापनापछि रुट परमिट खारेज गरेर कम चाप हुने स्थानका सवारीहरु बढी चाप हुने क्षेत्रमा सञ्चालन गर्न समेत सरकारसँग माग गरेको अध्यक्ष स्वाँरले जानकारी दिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*