‘पेप्सी’को बोतलमा भेटियो कालो लेदो, महानगरले कम्पनीलाई ठोक्यो जरिवाना

काठमाडौं । बरुण वेभरेजको स्लाइसमा अखाद्य वस्तु भेटिएपछि काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ । बरुणले उत्पादन गरेको स्लाइसमा अखाद्य वस्तु भेटिएको प्रमाणित भएपछि २ लाख जरिवाना तिराइएको काठमाडौं महानगरपालिकाले जनाएको छ ।
बजार अनुगमनको क्रममा काठमाडौं महानगरपालिका–३२ स्थित कालिमाटीमा सञ्चालित एक पसलमा बेच्न राखिएको पेप्सी आइटम ‘स्लाइस’मा अखाद्य वस्तु भेटिएको महानगरले जानकारी दिएको छ ।
महानगरका अनुगमन निरीक्षक डा. अवधेश झाका अनुसार नियमित अनुगमनका क्रममा पेप्सी आइटम ‘स्लाइस’मा कालो लेदो भेटिएपछि उत्पादन गर्ने कम्पनीलाई नै कारबाही गरिएको हो ।
महानगरले प्याकिङपछि भौतिक र रासायनिक दुवै रुपमा अनिवार्य गुणस्तर मापन गर्न समेत निर्देशन दिएको छ । अखाद्य पदार्थ भेटिएको स्लाइस उत्पादन लटको गुणस्तर पुनः परीक्षण गर्न पनि कम्पनीलाई निर्देशन दिइएको झाले जानकारी दिए ।












