काठमाडौंबाट साउदी अरब उडेको नेपाल एयरलाइन्सको जहाजमा प्राविधिक समस्या, पाकिस्तानबाट काठमाडौं फर्काइयो

१८ आश्विन २०८०, बिहीबार ११:२०

काठमाडौं । काठमाडौंबाट साउदी अरबको दमाम उडेको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को जहाज बीचबाटै काठमाडौं फर्किएको छ ।

गए राति १२ बजेर १४ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दमाम उडेको नेपाल एयरलाइन्सको आर ए ४१२ जहाज आज बिहान ४ बजेर ५१ मिनेटमा पुनः काठमाडौं अवतरण गरेको विमानस्थल कार्यालयले जनाएको छ ।

विमानस्थलका महाप्रबन्धकका अनुसार काठमाडौं–दमाम उडानको उक्त जहाजको ‘टिकास उपकरण’मा समस्या देखिएकाले पुनः काठमाडौं फर्काइएको हो । पाकिस्तानको आकाशमा पुगेपछि प्राविधिक समस्या देखिएपछि विमान चालकले जहाज काठमाडौं फर्काएका थिए ।

जहाज उडानको क्रममा अन्य जहाज नजिक आएमा सङ्केत गर्ने उपकरणलाई टिकास भनिन्छ । ‘टिकास जहाज भित्रको सिस्टम हो, यसलाई ‘ट्राफिक अलर्ट एन्ड कोलिजन अभोइडेन्स सिस्टम’ भनिन्छ, जसले कुनै जहाज नजिक आएको खण्डमा सम्भावित जोखिमबाट जोगाउन आवश्यक निर्देशन दिन्छ’, उनले भने ।

उक्त जहाजका यात्रुलाई अर्को जहाजको व्यवस्था गरेर गन्तव्यमा पठाइने विमानस्थलले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*