प्रधानमन्त्री प्रचण्ड भोलि भूकम्प प्रभावित क्षेत्र बझाङ जाने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भूकम्प प्रभावित बझाङ जाने भएका छन् । प्रधानमन्त्री प्रचण्ड शुक्रबार बझाङ जाने उनको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री प्रचण्डले बिहीबार बझाङका भूकम्प पीडितलाई तत्काल राहत दिन र क्षतिग्रस्त संरचनाको पुननिर्माण प्रक्रिया तत्काल अघि बढाउन निर्देशन दिएका थिए ।
बिहीबार बसेको विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन परिषद्को १२औं बैठकमा प्रधानमन्त्री प्रचण्डले भूकम्प पीडित र प्रभावित जनतालाई राहत, उद्धार, पुनर्स्थापना तथा पुनर्निर्माणका बारेमा आवश्यक निर्णय तथा कार्यान्वयन गर्न निर्देशन दिएका हुन् ।
सुदूरपश्चिमको पहाडी जिल्ला बझाङमा भूकम्पका कारण सुदूरपश्चिमको प्रदेश राजधानीसँग बझाङलाई जोड्ने जयपृथ्वी लोकमार्गमा सुख्खा पहिरो गएको छ भने केही स्थानमा भूकम्पले व्यक्तिका घर तथा विद्यालय संरचना भत्किएका छन् ।












