पाथीभरा जाने बाटो दुई वर्षदेखि अलपत्र, यात्रुलाई सास्ती

काठमाडौं । ताप्लेजुङको पाथीभरा सडकअन्तर्गतको सुकेटारबाट काफ्लेपाटीसम्मको खण्डमा कालोपत्र गर्ने कामको ठेक्का दुई वर्ष बितिसक्दापनि काम नसकेपछि सडक अलपत्र हुँदा लाखौं यात्रीलाई सास्ती बेहोर्नु परेको छ ।
उक्त बाटो दुई वर्ष छ महिनामा कालोपत्र गरी सक्ने योजनाका साथ काठमाडौं कन्टेक प्रालिले ठेक्का लिएको थियो । तर ठेक्का समयावधि सकिन आठ महिना मात्र बाँकी ह्ुँदा पनि काम भने ११ प्रतिशत मात्र भएको बताइएको छ । कम्पनीसँग वि.स २०७८ पुस ११ गते सुकेटारबाट काफ्लेपाटीसम्मको १० किलोमिटर कालोपत्र गर्ने ठेक्का सम्झौता भएको थियो । ९५ करोड रुपैयाँको ठेक्का खुलेकोमा कन्टेकले ४१ करोड ७६ लाख ४७ हजार रुपैयाँ (४६ प्रतिशत) घटीमा ठेक्का पारेको थियो ।
सम्झौतामा वि.सं. २०८१ को जेठ मसान्तसम्ममा काम सक्नुपर्ने बताइएको छ तर सोअनुसार हालसम्म करिब ७० प्रतिशत काम सकिसक्नुपर्नेमा ११ प्रतिशत पनि नभएको जनाइएको छ । निर्माण कम्पनीका अनुसार सडक कालोपत्रका लागि आवश्यक कच्चा पदार्थ ढुङ्गा, गिट्टी र बालुवाको समस्या भएकाले काममा ढिलाई भएको हो । ठेकेदारले अटेर गर्दा र काममा ध्यान नदिदा कामले गति लिन नसकेको यात्रीहरुको भनाई रहेको छ ।
पाथीभरा जाने सडकका विषयमा गत १४ गते आइतबार सडक विभागका महानिर्देशक सुशीलबाबु ढकाल, सांसद योगेश भट्टराई, निर्माण व्यवसायी गणेश मैनालीसहित सम्बधित विभागका प्रमुखको उपस्थितिमा निर्माण कम्पनीले तत्काल यातायाता सहज बनाउन काम सुरु गर्ने समहति भएको र सात दिनसम्ममा पनि काम सुरु नगरे योजना कार्यालयले विभागीय प्रक्रियाबाट सो कार्य गर्दा लागेको खर्च निर्माण कम्पनीको धरौटी बिल कट्टा गर्ने सहमति भएको सडक विभागले जनाएको छ ।
सडक निर्माणको प्रगति न्यून भएकाले निर्माण कम्पनीले ठेक्का सम्झौता मितिसम्ममा के–कस्तो योजनाले काम गर्न सकिन्छ सोको कार्यतालिकासहित सात दिनभित्र सडक विभागमा प्रतिवेदन बुझाउनुपर्ने सहमतिपत्रमा उल्लेख गरिएको छ । तीन महिनाको समयावधिभित्र उल्लेख्य कामको प्रगति नभएमा नियमानुसार कारबाही प्रक्रिया अघि बढाउने विभागले जनाएको छ ।
सदरमुकाम फुङ्लिङबाट सुकेटार विमानस्थलसम्म आठ किलोमिटर दूरी भने पहिलेनै कालोपत्र भईसकेको छ । पाथीभरा जाने सडक कालोपत्र भएपछि दर्शन गर्न आउने तीर्थयात्रीको सङ्ख्या बढ्ने पाभीभरा क्षेत्र विकास समितिले अपेक्षा लिएको छ । अहिले वार्षिक तीन लाख हाराहारीमा तीर्थयात्रीले पाथीभरामा दर्शन गर्ने गरेका छन् । सुकेटारबाट काफ्लेपाटीसम्म सडक कालोपत्र भएमा करिब ३५ प्रतिशत तीर्थयात्री बढ्ने समितिले अपेक्षा राखेको छ ।
हाल सो स्थानको सडक कच्ची भएका कारण सुकेटारदेखि सवारीसाधन जान नसक्दा र तीर्थयात्री आफैँले लिएर आएको साना गाडी कच्ची सडकमा नजाने हुँदा सुकेटारबाट स्थानीय गाडीमा जानुपर्ने बाध्यता भएकाले यात्रीहरुले सास्ती खेपिरहेका छन् । पाथीभरा क्षेत्रको सडक कालोपत्रको काम सम्पन्न भएमा जिल्लामा आन्तरिक तथा बाह्य पर्यटक र तीर्थयात्रीको सङ्ख्या वृद्धि हुने र यसले समग्र जिल्लाको आम्दानीसमेत बढ्ने होटल व्यवसायीहरुले विश्वास लिएका छन् ।












