एक महिनामै जीवन बीमा कम्पनीहरुको १ अर्ब बढीको बीमा पोलिसी सरेन्डर, कसको कति ?

काठमाडौं । जीवन बीमा कम्पनीहरुले भदौ महिनामा एक अर्ब बढी रुपैयाँको बीमा पोलिसी सरेन्डर भएको छ । नेपाल बीमा प्राधिकरणले प्रकाशित गरेको तथ्यांकअनुसार नौ हजार ३८६ जना बीमितबाट कुल एक अर्ब १८ करोड २० लाख रुपैयाँको पोलिसी सरेन्डर भएको हो ।
बीमा क्षेमा बीमा पोलिसी सरेन्डरमा बृद्धि आउन नराम्रो कुरा हो । देशको कमजोर आर्थिक अवस्था र बीमा कम्पनीहरुबीचको अस्वस्थ प्रतिस्प्रधाका कारण पनि बीमा सरेन्डर गर्नेको संख्या बृद्धि भएको हो ।
भदौ महिनामा नेपाल लाइफका २५ हजार ४२ जना बीमितहरुले ४० करोड ३९ लाख रुपैयाँ बराबरको बीमा पोलिसी सरेन्डर गरेका छन् ।
विवरण अनुसार एलआईसी नेपालका एक हजार ८२३ जनाले २७ करोड ५८ लाख रुपैयाँको बीमा पोलिसी सरेन्डर गरेका छन् । त्यस्तै, नेशनल लाइफका ६९९ जना बीमीतले १० करोड ५९ लाख रुपैयाँ बराबरको पोलिसी सरेन्डर गरेका छन् ।
सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीबाट ११ हजार ३४ जना बीमितले नौ करोड ८१ लाख रुपैयाँ, सूर्यज्योति लाइफका ४११ जना बीमितले सात करोड ३१ लाख रुपैयाँको बीमा पोलिसी सरेन्डर गरेका छन् ।
भदौ महिनामा एशियन लाइफका ७५८ जना बीमितले चार करोड ८४ लाख रुपैयाँ, हिमालयन लाइफका ९५९ जना बीमितले ८ करोड ४३ लाख रुपैयाँ, आइएमई लाइफका ४१ जना बीमीतले ४७ लाख रुपैयाँ, रिलायबल नेपाल लाइफका १४२ जना बीमीतले ७२ लाख रुपैयाँ, मेट लाइफका ३९१ जना बीमितले तीन करोड ६९ लाख रुपैयाँ, सानिमा रिलायन्स लाइफका १५९ जनाले एक करोड २३ लाख रुपैयाँ, सिटिजन लाइफका २०३ जनाले एक करोड ६३ लाख रुपैयाँ बराबरको बीमा पोलिसी सरेन्डर गरेका छन् ।











