२०७८ सालको दशैं असोज २१ बाट सुरु हुने, अन्य पर्वहरु कहिले ?

१७ फाल्गुन २०७७, सोमबार १६:४३

काठमाडौं । विसं २०७८ को तिथिमिति सहितको नयाँ पात्रो स्वीकृत भएको छ । पञ्चाङ्ग निर्णायक समियितको बैठकले २०७८ सालको मुख्य मुख्य पर्वहरु सहितको पञ्चाङ्ग स्वीकृत गरेको हो । पञ्चाङ्गमा एकरुपताको लागि समितिबाट स्वीकृत भएपछि मात्रै नयाँ पात्रो निर्माण सम्बन्धी काम गर्न पाइने छ ।

बडादशैँका रूपमा मनाइने आश्विन शुक्ल पक्षको दशैँ आगामी वर्ष असोज २१ गते बिहीबार घटस्थापना गरेर शुरु हुने पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । सो समितिका अनुसार असोज २७ गते बुधबार महाअष्टमी, असोज २८ गते बिहीबार महानवमी र असोज २९ गते शुक्रबार विजयादशमी पर्व निर्धारण गरेको छ । त्यस्तै, कार्तिककृष्ण पक्षमा शुरु भएर शुक्ल पक्षमा सकिने तिहार कात्तिक १६ गते मङ्गलबारदेखि शुरु हुनेछ । जस अनुसार लक्ष्मीपूजा कात्तिक १८ गते बिहीबार र भाइटीका कात्तिक २० गते शनिबार परेको छ । दशैँ र तिहारलाई नेपालमा विशेषरूपमा मनाइन्छ ।

२०७८ सालमा तीन वटा दशैं परेको छ । यस वर्षको चैते दशैं २०७८ बैशाखमा परेको छ । समितिका अनुसार वैशाख ७ गते मङ्गलबार चैत्र शुक्ल अष्टमी अर्थात् चैते दशैँ परेको छ । असोजमा पर्ने बडा दशैं दोस्रो दशैं हुन पुगेको छ । त्यसैगरी विसं २०७८ को चैत २६ गते शनिबार पनि अर्को वर्षको चैते दशैं परेको छ ।

वर्षमा चारपटक अर्थात् चैत, असार, असोज र पुस महिनाको शुक्ल पक्षमा देवीको आराधना गर्ने नवरात्र पर्दछन् । सो आधारमा २०७८ साल निकै महत्वपूर्ण रहेको जनाइएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*