मध्य भोटेकोशीको ६० लाख कित्ता आईपीओ आउँदै, क–कसले भर्न पाउने ?

१३ बैशाख २०७८, सोमबार १२:१४

काठमाडौं । कोरोना महामारीको समयमा नेप्से परिसूचक घटिरहेको अवस्थामा पनि मध्य भोटकोशी जलविद्युत कम्पनी लिमिटेडले साधारण शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ ।

कम्पनीले निष्काशन गर्ने पहिलो चरणको आईपीओमा सबैले आवेदन दिन भने पाउने छैनन् । आयोजना प्रभावित र सिन्धुपाल्चोक जिल्लाका अन्य क्षेत्रका बासिन्दालाई लक्षित गरी वैशाख २१ गतेदेखि आईपीओ निष्काशन गर्न लागेको हो ।

कम्पनीले पहिलो चरणमा प्रतिसेयर १०० अंकित दरमा कुल ६० लाख कित्ता आईपीओ निष्काशन गर्न लागेको हो । निष्काशन गरिने कुल कित्तामध्ये ३० प्रतिशत अर्थात १८ लाख कित्ता आयोजना प्रभावित क्षेत्र सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाँउपालिका वडा नं. १ र ५, बाह्रबिसे नगरपालिका वडा नं. ५ र ६ तथा बाह्रबिसे नगरपालिका वडा नं. ७ र ८ मा स्थायी बसोबास गर्ने बासिन्दाहरुका लागि छुट्याइएको छ भने बाँकी ७० प्रतिशत अर्थात ४२ लाख कित्तामा सिन्धुपाल्चोक जिल्लाको अन्य क्षेत्रमा बसोबास गर्ने बासिन्दाहरुले आवेदन दिन सक्नेछन् ।

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट गत वैशाख ५ गते कुल एक करोड ५० लाख कित्ता साधारण शेयर निष्काशनको अनुमति पाएको थियो । जसमध्ये पहिलो चरण र दोस्रो चरण गरि कम्पनीले आईपीओ निष्काशन गर्न लागेको हो । पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाको लागि ६० लाख कित्ता आईपीओ निष्काशन गर्न लागेको हो । बाँकी ९० लाख कित्ता भने कम्पनील दोस्रो चरणमा सर्वसाधारणका लागि निष्काशन गर्ने जनाएको छ ।

कम्पनीको पहिलो चरणको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम ४०० कित्ताका लागि आवेदन दिन सक्नेछन् । आवेदकहरुले छिटोमा ४ गते र ढिलोमा जेठ २० गतेसम्म आवेदन दिन सक्ने कम्पनीले सूचना जारी गरेको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*