एमडिआरटी लक्ष्य चुमेका सानिमा लाइफका एजेन्सी म्यानेजर परियारको कोरोनाबाट निधन

२२ बैशाख २०७८, बुधबार १८:११

काठमाडौं । जीवन बीमा व्यवसायको प्रबद्र्धनमा अहोरात्र खटिएर २०२१ को लागि एमडिआरटीमा भाग लिने लक्ष्य सफलतापूर्वक पूरा गरेका सानिमा लाइफ इन्स्योरेन्स कम्पनीका एजेन्सी म्यानेजर बिनोद परियारको दुखद निधन भएको छ ।

सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको नेपालगन्जस्थित शाखा कार्यालयका प्रमुख मेगराज बिकले दिएको जानकारी अनुसार परियारको मंगलबार साँझ कोहलपुरस्थित शिक्षण अस्पतालमा उपचारको क्रममा निधन भएको हो । ७ दिन आईसियुमा बसेर कोरोना केही निको भएपछि सामान्य बेडमा सारेर उपचार गराउँदै गरेको अवस्थामा एक्कासी हिजो निधन भएको हो ।

सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको नेपालगन्ज शाखामा आबद्ध परियारले गत वर्ष ३८ लाख रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेर एमडिआरटीको लक्ष्य भेट्टाएका थिए । व्यवसायिक अभिकर्ताहरुको अन्तर्राष्ट्रिय प्लेटफर्म एमडिआरटीको लक्ष्य भेट्टाए पनि उनले उक्त सम्मेलनमा भने भाग लिन नपाई कोरोनाबाट निधन भएका हुन् ।

परियार आफ्नो २५ लाख रुपैयाँ बीमाङ्कको बीमा गराएको सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले जनाएको छ । सकारात्मक सोच, बीमा जनचेतना जगाउन सधैं सक्रिय परियारको निधनबाट नेपालगन्ज, सो आसपासका क्षेत्र तथा अन्य क्षेत्रका अभिकर्ता समेत त्रसित हुन पुगेका छन् ।

बीमा समितिले कोभिड महामारीको समयमा सामाजिक दुरी कायम गर्दै डिजिटल माध्यमबाट बीमा जनचेतना जगाउन आग्रह गर्दै आएको छ । बीमा जनचेतना जगाउन हर समय सक्रिय परियारको निधनमा बीमा पोष्ट परिवार गहिरो शोक व्यक्त गर्दछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*