प्रेसमाथि सरकारले गरेको दमन रोक्न नेपाल–अमेरिका पत्रकार संघको माग

काठमाडौ । नेपाल–अमेरिका पत्रकार संघ (नेजा) ले मिडिया हाउसमा प्रहरीको प्रवेशप्रति आपत्ति जनाएको छ । नेपालमा पत्रकारमाथिको धरपकडको शृंखलाले प्रेस स्वतन्त्रतामाथी अंकुश लगाउन खोजिएको भन्दै स्वतन्त्रताको ग्यारेण्टी गर्न नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले आग्रह गरेको हो ।
नेजाका महासचिव ईश्वरी न्यौपानेद्वारा जारी विज्ञप्तिमा नेपाल प्रेसको कार्यालयबाट पत्रकार विश्वमणि सुवेदी, मोरङबाट भोलाराज बराल र दियोपोस्टका प्रधानसम्पादक बिरज अनार्यलाई पक्राउ गरिएको घटनाको कडा निन्दा गरिएको छ । नयाँ पत्रिका दैनिकका पत्रकार नवराज मैनालीलाई समेत कार्यालयबाट नियन्त्रणमा लिने प्रयास भएको विवरणप्रति संघले ध्यानाकर्षण भएको जनाएको छ ।
समाचार कक्षमै प्रवेश गरी पत्रकारलाई पक्राउ गर्ने, धरपकड गर्ने र त्रासको वातावरण सिर्जना गर्ने कार्यलाई नेजाले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको गम्भीर हस्तक्षेप भनेको छ । यस्ता गतिविधिले पत्रकारलाई निर्भीकतापूर्वक पेसागत जिम्मेवारी निर्वाह गर्न अवरोध पुर्याउनुका साथै नागरिकको सुसूचित हुन पाउने अधिकारलाई समेत कमजोर बनाउने संघको भनाइ छ ।
प्रकाशित वा प्रसारित समाचारप्रति असहमति वा उजुरी भए सम्बन्धित निकाय र स्थापित कानुनी प्रक्रियाबाट निरूपण गरिनुपर्नेमा नेजाले जोड दिएको छ । समाचारसँग सम्बन्धित विषयमा पत्रकारमाथि धरपकड र सञ्चारगृहमा प्रहरी हस्तक्षेप गर्नु लोकतान्त्रिक मूल्य तथा स्वतन्त्र पत्रकारिताको मर्मविपरीत हुने विज्ञप्तिमा उल्लेख छ ।
संघले पक्राउ परेका पत्रकारहरूको तत्काल रिहाइसँगै पत्रकारलाई तर्साउने तथा धरपकड गर्ने गतिविधि बन्द गर्न, घटनाको निष्पक्ष छानबिन गर्न र सुरक्षित वातावरणमा काम गर्ने सुनिश्चितता प्रदान गर्न नेपाल सरकार तथा सम्बन्धित निकायसँग माग गरेको छ । प्रेस स्वतन्त्रता र पत्रकारको सुरक्षाका पक्षमा नेपाल पत्रकार महासंघले उठाएको आवाजप्रति ऐक्यबद्धता जनाउँदै नेजाले पत्रकारमाथिको दमनविरुद्ध एकजुट हुन पत्रकार, सञ्चार संस्था र लोकतन्त्रका पक्षधरहरूलाई आह्वान गरेको छ ।











