तेस्रो त्रैमासमा प्रभु लाइफको छलाङ्, जीवन बीमा कोष झण्डै तेब्बर बृद्धि, बीमा शुल्क ११५% ले बढ्यो

२३ बैशाख २०७८, बिहीबार १०:०९

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आईपुग्दा बीमा व्यवसायमा छलाङ मारेको आज प्रकाशित वित्तीय विवरणले देखाएको छ । कम्पनीले समीक्षा अवधीमा जीवन बीमा कोष झण्डै तेब्बर बनाउन सफल भएको छ भने खुद बीमा शुल्क र मुनाफासहितका सूचांकहरु बृद्धि भएको देखिएको छ ।

चैत्र मसान्तसम्मको विवरण अनुसार प्रभु लाइफ इन्स्योरेन्स कम्पनीको गत आर्थिक वर्षको तेस्रो त्रैमासको तुलनामा जीवन बीमामा १८२ प्रतिशतले बृद्धि गर्न सफल भएको छ । कम्पनीले गत आवमा जीवन बीमा कोषमा ६२ करोड ६१ लाख ७२ हजार ७२२ रुपैयाँ संचिती गरेकोमा चालु आवमा एक अर्ब ७६ करोड ५८ लाख दुई हजार ३६२ रुपैयाँ संचिती गर्न सफल भएको छ । महाविपत्ति कोष र जगेडा कोषका आकारहरु पनि उल्लेख्य रुपमा बृद्धि गर्दै कम्पनीले दुई अर्ब १५ करोड ७६ लाख ३७ हजार ६४१ रुपैयाँ जम्मा गर्न सफल भएको छ ।

कम्पनीले खुद बीमा शुल्क आर्जन ११५.६० प्रतिशतले बृद्धि गर्न सफल भएको छ । कम्पनीले गत आवमा ५० करोड ४८ लाख ४४ हजार ८२७ रुपैयाँ बीमा शुल्क संकलन गरेकोमा चालु आवको नौ महिने समीक्षा अवधीमा एक अर्ब आठ करोड ८४ लाख ६० हजार ८१८ रुपैयाँ संकलन गर्न सफल भएको छ ।

कम्पनीको व्यवस्थापन खर्च खासै बढेको देखिएको छैन । गत आवको तुलनामा बीमा व्यवसाय शतप्रतिशत भन्दा बढिले बृद्धि गर्दा कम्पनीको व्यवस्थापन खर्च जम्मा ८ प्रतिशतले मात्रै बृद्धि भएको छ । गत आवको नौ महिनामा २६ करोड ४७ लाख ७३ हजार ९६० रुपैयाँ खर्च गरेको कम्पनीले चालु आवको समीक्षा अवधीमा २८ करोड ८५ लाख ३० हजार ८१० रुपैयाँ व्यवस्थापन खर्च गरेको छ ।

त्यस्तै कम्पनीमा आबद्ध अभिकर्ताहरुलाई दिइएको कमिशनमा ९० प्रतिशतले बृद्धि भएको छ । गत आवमा नौ करोड एक लाख आठ हजार ४९ रुपैयाँ अभिकर्तालाई कमिशन वितरण गरेको कम्पनीले चालु आवमा १७ करोड १५ लाख ३६ हजार ८८८ रुपैयाँ अभिकर्तालाई कमिशन बापत वितरण गरेको छ ।

कम्पनीको खुद मुनाफा १४८ प्रतिशतले बृद्धि भएको छ । यसै वर्ष मात्रै आईपिओ जारी गरेका कम्पनीको मुनाफा उल्लेख्य रुपमा बृद्धि भएको हो । दुई अर्ब चुक्ता पुँजि भएको कम्पनीले १३ करोड ७८ लाख ३८ हजार १९१ रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो वर्ष कम्पनीको खुद नाफा पाँच करोड ५५ लाख चार हजार २२७ रुपैयाँ थियो । यद्यपि जीवन बीमा कम्पनीहरुको खुद नाफा बीमाङ्कीय मूल्याङ्कनको क्रममा हेरफेर हुनसक्नेछ ।

अन्य कम्पनीहरुको तुलनामा प्रभु लाइफ इन्स्योरेन्स कम्पनीको जीवन बीमा कोष निकै सानो भएपनि नयाँ खुलेको कम्पनी हुनु तथा गत आर्थिक वर्षको तुलनामा कम्पनीले छलाङ् मार्दै अघि बढ्न सफल भएको तथ्याङ्कले देखाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*