सिटिजन लाइफको जीवन बीमा कोषमा तीन अर्ब, खुद बीमा शुल्क दोब्बर, सबै सूचांकमा प्रगति

२६ बैशाख २०७८, आईतवार ०७:५५

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले चालु आवको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । सो कम्पनीले जीवन बीमा कोषमा तीन अर्ब एक करोड ११ लाख २९ हजार रुपैयाँ संचिती गर्न सफल भएको छ । अघिल्लो वर्षको तुलनामा १३८ प्रतिशतले बृद्धि गर्न सफल भएको कम्पनीको गत आवमा जीवन बीमा कोषमा एक अर्ब २६ करोड ४९ लाख ३६ हजार रुपैयाँ संचिति थियो । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी नयाँ जीवन बीमा कम्पनी हो । जीवन बीमा कम्पनीहरुका लागि बीमा कोष निकै महत्वपूर्ण हुने गर्दछ ।

कम्पनीले नौ महिनामा दुई अर्ब ४४ करोड १० लाख २६ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गर्न सफल भएको छ । अघिल्लो आर्थिक वर्षको समीक्षा अवधीमा कम्पनीले जम्मा एक अर्ब १६ करोड ३५ लाख २२ हजार रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको थियो ।

त्यस्तै कम्पनीले दुई अर्ब ४८ करोड ७४ लाख ९८ हजार रुपैयाँ कूल बीमा शुल्क आर्जन गरेको छ । जुन अघिल्लो आबको तुलनामा १०९ प्रतिशतले बढि हो । अघिल्लो आवमा कम्पनीले एक अर्ब १८ करोड ५३ लाख ११ हजार रुपैयाँ कूल बीमा शुल्क आर्जन गरेको थियो ।


समीक्षा अवधीमा कम्पनीको खुद दावी भुक्तानी रकम भने बृद्धि भएको देखिएको छ । ६९१ प्रतिशतले दावी भुक्तानी बृद्धि भएको कम्पनीले ३७ करोड ८५ लाख ५७ हजार रुपैयाँ दावी भुक्तानी गरेको छ । अघिल्लो आवमा कम्पनीले ४ करोड ७८ लाख २८ हजार रुपैयाँ दावी भुक्तानी गरेको थियो ।

त्यस्तै सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले चालु आवको नौ महिनामा अभिकर्तालाई कमिशन बापत ४५ करोड ७४ लाख ५५ हजार रुपैयाँ कमिशन बापत वितरण गरेको छ । जुन अघिल्लो आवको तुलनामा १०९.१४ प्रतिशतले बढि हो ।

कम्पनीले अघिल्लो आवमा २१ करोड ८७ लाख ३५ हजार रुपैयाँ अभिकर्तालाई कमिशन बापत वितरण गरेको थियो ।
कम्पनीको व्यवस्थापन खर्च ५५.५५ प्रतिशतले बृद्धि भएको छ । यस आवमा ४३ करोड ५७ लाख नौ हजार रुपैयाँ खर्च गरेको छ । अघिल्लो वर्ष २८ करोड एक लाख १० हजार रुपैयाँ व्यवस्थापन खर्च गरेको थियो ।

कम्पनीको मुनाफा सामान्य अंकले बढेको छ । चालु आवको नौ महिनामा कम्पनीले १४ करोड ५७ लाख ४८ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवमा कम्पनीको मुनाफा १४ करोड ३९ लाख २३ हजार रुपैयाँ थियो । जीवन बीमा कम्पनीहरुको मुनाफा बीमाङ्कीय मूल्याङ्नको क्रममा हेरफेर हुनसक्नेछ ।

कम्पनीको दावी भुक्तानी हुन बाँकी रकम चार करोड ११ लाख रुपैयाँ छ भने ५०२ वटा दावी भुक्तानी गरी ९८ वटा दावी भुक्तानी गर्न बाँकी छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*