महिला लघुवित्तको शेयर ‘होल्ड’ गर्नेले बिक्री गर्न थाले, थामिएला मूल्यबृद्धि ?

२६ बैशाख २०७८, आईतवार ०८:४७

काठमाडौं । कुनै अन्यथा भएन भने महिला लघुवित्त वित्तीय संस्थाको शेयर आज ३५ औं दिन नेप्सेमा सर्किट लागेर मूल्य बृद्धि हुनेछ । सुरुदेखि लगातार मूल्यबृद्धि भइरहेको महिला लघुवित्त वित्तीय संस्थाको शेयर होल्ड गरेकाहरुले सानो अंश बिक्री गरेको पाइएको छ ।

महिला लघुवित्तको शेयर बिक्रीकर्ता नै नभए पनि गत बिहिवार १२ हजार ८४३ कित्ता शेयर खरिद बिक्री भएको छ । सो मध्ये ९५० जना भन्दा बढि सर्वसाधारणले नौ हजार ५०० कित्ता हाराहारी शेयर बिक्री गरेका छन् । सो बाहेक यसअघि शेयर खरिद गरेका होल्डरहरुले करिब ३५०० कित्ता शेयर बिक्री गरेका छन् । बिहिवार एकै ब्रोकर नं ३५ बाट बिक्री १८१८ कित्ता शेयर बिक्री भयो भने ब्रोकर नं १० बाट १३३० कित्ता शेयर बिक्री भएको छ ।


महिला लघुवित्तको शेयरको कारोबार अहिलेसम्म स्वतन्त्र रुपमा खरिदकर्ता र बिक्रीकर्ताका बीचमा मोलमोलाई भएर हुन सकेको छैन । दैनिक रुपमा १० प्रतिशतको सकारात्मक सर्किट लाग्ने र सर्किटभित्रै कारोबार हुँदै आएको छ । स्वतन्त्र रुपमा कारोबार हुन अझै केही समय लाग्ने अनुमान गरिएको छ । गत बिहीबारसम्मको मूल्य अनुसार महिला लघुवित्तको शेयर परेकाहरुले एक हजार रुपैयाँ लगानी गरेर ५० हजार ३०० रुपैयाँ कमाइसकेका छन् । आज पनि सर्किट लागेर मूल्य बृद्धि भएमा ५५ हजार पुग्नेछ । सम्भवतः नेपालको शेयर बजारको इतिहासमा यति थोरै समयमा यसरी शेयरको मूल्यबृद्धि भएर लगानीकर्ताहरुले धेरै कमाएको यो पहिलो घटना हुनुपर्दछ ।

मार्केट ट्रेन हेर्दा महिला लघुवित्तको मूल्यबृद्धि अझै रोकिने सम्भावना छैन । सेलर सेक्सनमा बिक्रेता नआएकोले महिला लघुवित्तको शेयर मूल्य अझै केही दिन सर्किट लाग्ने सम्भावना छ । यद्यपि शेयर बजारमा कुनै पनि कुराको निश्चितता भने गर्न मिल्दैन । लगानीकर्ताहरुले कम्पनीको वित्तीय विवरण तथा अन्य सूचांकहरुको विश्लेषण गरेर शेयर खरिद बिक्री गर्नुपर्दछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*